लुम्बिनी प्रादेशिक अस्पताललाई एक नम्बर बनाउंछु :अध्यक्ष श्रेष्ठ

१२ सय शैयाको अस्पताल भवन ठेक्का अघि बढाउने घोषणा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान श्रेष्ठले अस्पताललाई नेपालकै अग्रणी र एक नम्बर बनाउने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतबार अस्पतालमा आयोजित पद वहाली कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आफू बुटवलको छोरो भएकाले अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी बनाउन निस्वार्थ भावनाले काम गर्ने बताए ।

उनले आफूले उद्योग, व्यवसाय र सामाजिक क्षेत्रमा हासिल गरेको ज्ञान र अनुभवसंगै विज्ञहरुसंग राय सुझाव लिएर अस्पताललाई नमूना बनाउने गरी काम गर्ने बताए ।

‘मलाई कुनै लाभ लिनु छैन, म प्रशासन चलाउन आएको पनि हैन’–अध्यक्ष श्रेष्ठले भने–‘म अस्पताल प्रशासनलाई सहयोग गर्न, यहांका समस्या समाधान र वजेटका लागि प्रदेश र केन्द्र सरकारसंग डटेर कुरा राख्न आएको हुं ।’
अस्पतालमा विरामीको अत्यधीक चाप रहेकाले त्यसलाई थेग्न १२ सय शैयाको प्रस्तावित नयां भवनको ठेक्का प्रकृया अघि बढाउने पनि अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाए ।

प्रदेश सरकारको गौरवको आयोजनामा परेको अस्पतालको नयां भवनको ठेक्का प्रक्रियालाई कानुनी हिसाबले अप्ठेरो नपर्ने गरी अघि बढाउने श्रेष्ठले प्रतिवद्धता जनाएका हुन् ।

‘ठेक्का रद्द गरेर वा कानुनी हिसाबले टुंगो लगाएर ठेक्का अघि बढाइन्छ’–अध्यक्ष श्रेष्ठले भने–‘सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढाउन र गुणस्तरीय सेवा दिन नयां भवनको विकल्प छैन ।’

अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीलाई नागरिकले दोस्रो भगवानका रुपमा लिने भएकाले आफ्नो जिम्मेवारी नभुलेर मुस्कानसहितको सेवा दिन अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

आफूले शुरुमा सय दिने, ६ महिने र एक वर्षे योजना बनाएर काम गर्दै भविष्यमा नेपालकै नमूना र अग्रणी अस्पताल बनाउने गरी काम गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले अस्पताल प्रशासन र कर्मचारीबीच समन्वय र तालमेल गरेर अघि बढ्न सुझाव दिंदै स्वास्थ्यकर्मीहरुले विरामीमैत्री राम्रो व्यवहार गर्न आग्रह गरिन् ।
प्रादेशिक अस्पतालमा बढ्दो विरामीको चाप घटाउन उपमहानगरले वडाहरुमा १५ शैयाका अस्पताल बनाउन शुरु गरिसकेको उनले बताइन् ।

अस्पतालका पुर्व अध्यक्ष बाबुराम भट्टराईले १२ सय शैयाको अस्पताल भवन ठेक्कामा डेढ अर्ब रुपैयां तलमाथि गर्न खोजिएकाले ठेक्का विवादित र अलपत्र परेको भन्दै अब कानुनी प्रकृया मिलाएर अघि बढाउनुपर्ने सुझाए ।
उनले अप्रेशनको पालो ६ महिना कुर्नुपर्ने वाध्यता अन्त्य गर्न, वन कार्यालयको जग्गा अस्पतालको स्वामितत्व र संरक्षणमा लिन सुझाव दिए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले लामो समयसम्म अध्यक्ष नियुक्ति नहुंदा अस्पताल अभिभावकविहीन बनेको गुनासो गर्दै अब राजनीति भन्दा माथि उठेर काम गर्ने सक्षम नेतृत्व पाएको बताए ।

सो अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, डाक्टर श्रीधर आचार्य,नर्सिङ प्रमुख ज्योति पौडेल लगायतले अस्पतालले सक्षम अध्यक्ष पाएको भन्दै अस्पतालको सेवामा छिटै परिवर्तनको अनुभूति हुने विश्वास व्यक्त गरेका थिए ।

सम्बन्धित शिर्षक :