तिलोत्तमा नगरपालिकाले थाल्यो फोहर न्यूनीकरण अभियान

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन कम्पोष्टबिन वितरण गर्न थालिएको छ । नगरपालिकाले पहिलो चरणमा आनन्दवन(शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा कम्पोष्टविन वितरण सुरु गरेको हो । मूलतः थोरै क्षेत्रफलमा घर निर्माण गरेका नगरबासीहरुलाई लक्षित गरी कम्पोष्टबिन वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ ।

कम्पोष्टविनमा नगरपालिका र खानेपानी संस्थासँगै उपभोक्ताहरुको पनि लागत साझेदारी रहेको छ । पहिलो चरणमा खानेपानी संस्थाले १ हजार थान कम्पोष्टविन वितरण गर्ने जनाएको छ । उपभोक्ताको मागको आधारमा थप कम्पोष्टविन वितरण गरिने संस्थाले जनाएको छ । नगरपालिकाले परीक्षणको रुपमा संस्थासँग सहकार्य गरेर नगरबासीले घरको जैविक फोहोरबाट कम्पोष्ट मल बनाएर प्रयोग गर्न सकुन् भनेर यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

कम्पोष्टबिन वितरण कार्यको शुभारम्भ गर्दै तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणले कम्पोष्टबिनको व्यवस्थित प्रयोगले फोहोरलाई मोहरमा परिणत गर्ने उल्लेख गरे । उनले वातावरणमैत्री नगर निर्माणमा कम्पोष्टविन वितरणले टेवा पुर्याउने बताउँदै प्रभावकारिताको आधारमा यसलाई विस्तार गरिने बताए ।त्यसअवसरमा संस्थाले सञ्चालन गरेका कामहरुको बारेमा जानकारी गराउँदै संस्थाका अध्यक्ष केशवराज न्यौपानेले कम्पोष्टबिनले उपभोक्ताहरुलाई कौशीखेतीमा समेत प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नगर उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारी, नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख युवराज पन्थी, आनन्दवन शंकरनगर खानेपानीका उपाध्यक्षलगायतले कम्पोष्टबिनको प्रयोग र महत्वको बारेमा चर्चा गरेका थिए ।तिलोत्तमा नगरपालिका सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियान एक सयौं श्रृंखलामा पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार डष्टविन वितरण गरिएको हो ।

तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट नियमित सरसफाई अभियान सुरु भएको थियो । आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागीतामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् ।

सम्बन्धित शिर्षक :