सैनामैना १०मा झारफुक गर्ने क्रममा बिरामी किशोरीको मृत्यु

१७ जनालाई पक्राउ गरेर प्रहरीले सुरु गर्‍यो अनुसन्धान

स्वास्थ्यसमाचार/ झारफुक गर्ने क्रममा एक बिरामी किशोरीको मृत्यु भएपछि प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। फागुन २० गते झारफुक गर्ने क्रममा रुपन्देहीको सैनामैना नगरपालिका–१० बेमतेनीकी सीता ज्ञवालीको मृत्यु भएको थियो।

उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो। किशोरीको मृत्यु भएपछि सामाजिक सञ्जालमार्फत् उक्त घटनाको चौतर्फी बिरोध भएको थियो।

त्यसपछि प्रहरीले अनुसन्धान गरेर ज्ञवालीलाई झारफुक गर्ने सोही ठाउँकी २२ वर्षीया सोनिया रेश्मी झाक्री सहित १७ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको रुपन्देही प्रहरीका प्रवक्ता तथा इन्स्पेक्टर दीपक कुँवरले बताए।

झारफुक गर्ने क्रममा घर नजिकैको मन्दिरभित्र लगेर लछारपछार पारी कुटपिट गर्ने काम भएको पाइएको प्रहरीले जनाएको छ। कुटपिटका कारण बिरामी किशोरी ज्ञवालीको फागुन २० गते राति साढे ९ बजे मृत्यु भएको र त्यसलगत्तै दाहसंस्कार समेत गरेर घटना गुपचुप राख्न खोजिएको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक :