सर्वोच्च अदालतद्वारा डा भुसालको उम्मेदवारी खारेजीको कारण माग

स्वास्थ्यसमाचार/ सर्वोच्च अदालतले रुपन्देही(२ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसालको उम्मेदवारी खारेजीको कारण माग गरेको छ । चिकित्साशास्त्रमा नेपाल सरकारको छात्रवृत्तिमा पढ्दै गरेका व्यक्ति निर्वाचनमा उम्मेदवार बनेको भन्ने उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि उनी उम्मेदवारी कायम राख्न अन्तरिम आदेश माग्दै सर्वोच्च गएका थिए ।

भुसालको मुद्दामा बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको थियो । उम्मेदवारी खारेज बदर गरी पाउँ भन्ने उनको मागअनुसार अदालतले अन्तरिम आदेश नदिए पनि कात्तिक १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको सर्वोच्चले जनाएको छ । भुसालको पक्षमा अधिवक्ताहरु भीमार्जुन आचार्य र दिनेश त्रिपाठीले बहस गरेका थिए भने विपक्षमा अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरेका थिए ।

अन्तरिम आदेश नभएकोले भुसालको उम्मेदवारी खारेजीको निर्णय कायम रहेको र कानुनतस् उनले कात्तिक १५ गतेसम्म प्रचारप्रसार गर्न पाउने छैनन् । चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका विद्यार्थी भुसालले संस्थानलाई जानकारी नै नगराई उम्मेदवारी दर्ता गरेका थिए ।

उनले आफू स्वतन्त्र भने पनि अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो लिने घोषणा गरेका थिए । भुसाल चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालमा एमडी तहमा अध्ययनरत विद्यार्थी हुन् । उनले बिदामा बस्नका लागि निवेदन दिए पनि उम्मेदवारी दिनेबारे संस्थानलाई जानकारी नगराएको बताइएको छ ।

सम्बन्धित शिर्षक :