योगको वैज्ञानिक महत्व : मन्त्री बराल

स्वास्थ्यसमाचार /पातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालय भक्तपुरले आफ्नो प्रथम वार्षिकोत्सव आइतबार बुटवलमा सम्पन्न गरेको छ ।

वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री शुर्दशन बरालले योगको वैज्ञानिक महत्व रहेको भन्दै त्यसको विकासको लागि प्रदेश सरकार जुटेको बताए । नेपालमा नैं योगको विकास भएर पनि यसको अनुसन्धान र महत्व बुझाउन नसक्दा पछाडि परेको भन्दै अब प्रदेश सरकारले यसको प्रचार–प्रसार गर्ने स्पष्ट पारे ।

उनले प्रदेश सरकार आयुर्वेद औषधीमा आत्मनिर्भर बनाउने योजनाका साथ अगाडी बढेको बताउदै प्रदेश अन्तरगर्तका आयुर्वेद अस्पतालहरुमा योगका सामग्रीहरू प्रदेश सरकारले जुटाएको जानकारी दिए । नेपालमा जडिबुटीहरु प्रयाप्त भए पनि त्यसको उपयोग गर्न नसकेको बताए ।

नेपाल औषधिमा आत्मनिर्भर भएमा मात्र स्वास्थ्यलाई जनताको पहुँचमा ल्याउन सकिने उनको भनाइ थियो । कार्यक्रममा प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले दीर्घजीवनका लागि योग साधान अनिवार्य रहेको बताए । उनले यसको विकास र प्रचारका लागि सबै क्षेत्र जुटेर योगमा लाग्नुपर्ने बताए ।

पातञ्जल योग समिति प्रदेश नम्बर पाँचका अध्यक्ष लोकेन्द्र न्यौपानले पातञ्जल योग समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए त्यस्तै सोही अवसरमा हरिप्रसाद पोखरेलद्वारा लिखित योग सम्बन्धी योग बुलेटिन पुस्तल समेत मन्त्री बरालले विमोचन गरेका थिए ।

पातञ्जल योग समिति नेपाल केन्द्रीय अध्यक्ष सुर्दशन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिका प्रदेश पाँच महासचिव डा. प्रकाश पाण्डेले गरेका थिए । कार्यक्रममा पूर्वदेखि पश्चिम विभिन्न जिल्लाहरुमा समितिका व्यक्तिहरुको सहभागिता रहेको थियो । पातञ्जल योग समिति प्रदेश नम्बर ५, रूपन्देहीको आयोजनामा वार्षिक उत्सव बुटवलमा मनाइएको हो ।

सम्बन्धित शिर्षक :