सिद्धार्थनगरमा डेंगुको वासस्थान खोज र लार्भा नस्ट अभियान सुरु

स्वास्थ्यसमाचार /रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभियान थालेको छ ।  आजदेखि नगरपालिका भित्र डेंगु सार्ने एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको वासस्थान र लार्भा नस्ट गर्ने, प्रत्येक घरमा पुगेर ज्वरो आएका तथा डेंगु लागेका विरामीको तथ्यांक संकलन गर्ने अभियान सुरु गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए ।

दुई दिनको अभियानमा पानी जम्ने ठाउँ नष्ट गरिनेछ, पानी ट्यांकीलाई छोपेर राख्न, कुलर तथा फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्न, डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने हुँदा बाहुला भएका वा शरीर ढाकिने लुगा लगाउन, झुलको प्रयोग गर्न, लामखुट्टे भगाउने मल्हम प्रयोग गर्न, घर वरिपरि सफासुग्घर राख्न, पानी जम्ने खाल्डाखुल्डी पुर्न नगरबासीलाई सचेतना गराइने र यी कार्य नगरपालिकाबाट खटिएका कर्मचारीले पनि गर्ने उपप्रमुख उमा काफ्लेले बताइन् ।

डेंगु सार्ने लामखुट्टेको वासस्थान र लार्भा नस्ट गर्ने अभियानमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख गीता न्यौपानेको नेतृत्वमा स्वाथ्यकर्मी, अन्य कर्मचारी, स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ ।नगरका १३ वटै वडामा ५० वटा केन्द्रमार्फत् १ सय १ जना स्वयम्सेविका तथा स्वास्थ्यकर्मी, कर्मचारी परिचालन गरिएको न्यौपानेले बताइन् । अभियानको क्रममा डेंगु रोग लाग्ने कारण, बच्ने उपायबारे पनि नगरबासीलाई सचेतना गराइने छ । यससँगै सचेतनामूलक पर्चापम्पलेट पनि वितरण गरिरहेको नगरपालिकाले जनाएको छ ।

यसअघि नगरपालिकाले नगरभित्रका विद्यालयहरुमा अभियान चलाइसकेको छौं । यस्तै, जनप्रतिनिधिहरु पनि परिचालन भएका छन् । वडा कार्यालयमा आउने सेवाग्रागीलाई पर्चापम्पलेट बाँडिएको छ ।नगरभित्र रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरेर डेंगु नियन्त्रणमा लाग्न अपिल गरिएको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताइन् । अहिले हरेक विद्यालयमा पठनपाठन हुनुपूर्व शिक्षकहरुले विद्यार्थीलाई डेंगु रोगका बारे जानकारी गराएर मात्रै कक्षाकोठामा पठनपाठन गर्न सुरु गरेका छन् ।

दुई दिने अभियानमा नगरका प्रत्येक घरमा पुगेर डेंगुको वासस्थान गर्ने तरिका सिकाइने छ । यसको प्रभावकारिता हेरेर नगरपालिकाले थप योजना बनाएर डेंगु नियन्त्रण अभियानमा लाग्ने जनाएको छ ।मुलुकभरी फैलिएको डेंगुले हजारौं नागरिक विरामी भएका छन् । रुपन्देहीमा पनि डेंगुको संक्रमण विस्तारै बढ्दै गएको छ । जिल्लाको अन्यस्थानमा डेंगु संक्रमित बढ्दै गए पनि सिद्धार्थनगरमा भने सामान्य छ ।

वासस्थान र लार्भा नष्ट गर्ने तथा घरदैलो अभियानले डेंगु संक्रमण फैलन सहयोग पुग्ने नगरपालिकाको विश्वास छ । आम नागरिकलाई समेत सचेत गराइने भएकाले आगामी दिनमा पूर्ण नियन्त्रणमा आउने अपेक्षा गरिएको छ ।

सम्बन्धित शिर्षक :