बुटवलका मासु पसलमा अनुगमन,अधिकांश फोहोर र अस्वस्थकर

स्वास्थ्यसमाचार/  नजिकिँदै गइरहेको चाडपर्वमा सबैभन्दा बढि उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहित वस्तुहरूको बिक्रीबितरण रोक्न बुटवल उपमहानगरपालिकाले बुटवलका बिभिन्न क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको छ।

बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगर लगायतका क्षेत्रमा सञ्चालनमा रहेका बिभिन्न क्षेत्रमा सञ्चालित ११ मासु पसलमा गरिएको अनुगमनमा वधशालामा सरसफाइमा ध्यान नदिइएको पाइएको हो ।

बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा गरिएको अनुगमनमा ३ वटा मासु अखाद्य मासु भेटिएको छन् भने अधिकांशमा वधशाला सरसफाइमा ध्यान नदिएको पाइएको हो । अखाद्य मासु भेटिएकालाई उपमहानगरमा बोलाइएको छ भने अन्यलाई मापदण्ड अनुसार काम गर्न निर्देशन दिइएको हो ।

बुटवलको इँटाभट्टीको कुरैशी मासु पसल र स्माइली मासु पसल तथा देविनगरमा रहेको श्रेष्ठ मासु पसलबाट अखाद्य मासु फेला पारि जफत गरिएको छ ।यी मासु पसलबाट २२ किलोभन्दा बढि अखाद्य मासु फेला पारि नष्ट गरिएको बुटवल उपमहानगरका बरिष्ठ अधिकृत ठगिश्वर शर्माले जानकारी दिए । वधशाला तथा मासु पसलमा सरसफाइ नभएको भन्दै निर्देशन दिइएको उनले जानकारी दिए ।

देविनगरमा रहेका दिनेश फ्रेस हाउस र नमस्ते गाउले मासु पसलले सडक क्षेत्रमा सडकमा वधशाला बनाएको पाइएको छ भने तिनकुनेमा रहेका निमेस मासु पसलको बधशाला निकै फोहोर पाईएको हो । यस्तै इँटाभट्टीको माईला मासु पसल, ज्योति माईला मासु पसल र मेहेदी मासु पसल तथा होराइजन चोकको मामा मासु पसल र राजनफ्रेस हाउसमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा बोल्दै उपप्रमुख अर्यालले चाडपर्वको समयमा मासुको प्रयोग बढि हुने भएको मासु पसलमा अनुगमन गरि स्वच्छ र स्वस्थ्य मासुको प्रत्याभूति गराउने प्रयास गरेको बताइन् । उनले भनिन्,‘ चाडपर्वको समयमा जुन पदार्थको बढि खपत हुन्छ र कालोबजारीको डर हुन्छ त्यहि बस्तु तथा पसलमा अनुगमन गरेका छौँ । यसले गर्दा बुटवलका बासिन्दाले स्वस्थ्य र कालोबजार रहितका बस्तु उपभोग गर्न पाउनुहुनेछ । ’

मासुलाई तापक्रम ब्यवस्थापन गरि राख्नुपर्ने भएपनि त्यो अनुसार नपाइएको बुटवल उपमहानगरपालिकाका पशु चिकित्सक झबिन्द्र बन्जाडेले थप प्रक्रियाको लागि बुटवल उपमहानगर बोलाइएको बताए। उनले मासुलाई उचित तापक्रम मिलाएर राख्न सकिने भएपनि त्यसको ज्ञानको अभावमा फ्रिजमा राख्दा अन्य रोगहरू समेत लाग्ने डर हुने बताए ।

उपभोक्ता हित संरक्षण मन्च बुटवल उपमहानगर अध्यक्ष समुन्द्र जिसीले चाडपर्वमा हुने अखाद्य बस्तुको बेचबिखन हुनसक्ने भएकोले अनुगमन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तर र गोप्य तरिकाले गर्नुपर्ने बताए ।

अनुगमनमा उपप्रमुख आचार्य, उपमहानगरका कर्मचारी, पशु चिकित्सक, बुटवल उद्योग वाणिज्य संघका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि, पत्रकार, नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो । उपमहानगरले यसअघि तरकारी पसल लगायतका क्षेत्रमा अनुगमन गरिरहेको छ ।

सम्बन्धित शिर्षक :