स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. पोखरेललाई ल्याउने

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको कामु महानिर्देशकको जिम्मेवारी डा रोशन पोखरेललाई ल्याउने तयारी गरेको छ। उपप्रधान एवं स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरेर डा पोखरेललाई कामु महानिर्देशकको जिम्मेवारी तोक्न लागिएको हो। डा पोखरेल ११औं तहका कर्मचारी हुन्। उनी लामो समय कोशी अस्पतालका निर्देशकका रुपमा कार्यरत थिए।

उनलाई कामु महानिर्देशकको जिम्मेवारी दिने निर्णयका लागि टिप्पणी उठिसकेर निर्णयार्थ पेस भएको मन्त्रालय स्रोतले जनाएको छ।  विभागको महानिर्देशकमा १२औं तहको दरबन्दी छ। तर, हाल मन्त्रालयमा १२औं तहका कर्मचारी नै छैनन्।मन्त्रालयले १२ औं तहको महानिर्देशक नियुक्त नभएसम्मका लागि डा पोखरेललाई कामु महानिर्देशकको जिम्मेवारी दिन लागेको मन्त्रालय स्रोतले जानकारी दियो।कर्मचारी समायोजन पछिको पदस्थापनका क्रममा कोशी अस्पतालमा डा गुणराज लोहनीलाई निर्देशकका रुपमा पठाएपछि डा पोखरेल स्वास्थ्य मन्त्रालयमा आएका थिए।

डा सुशीलनाथ प्याकुरेलले उमेरका आधारमा अवकाश पाएपछि महानिर्देशकको पद खाली थियो।डा प्याकुरेलको समय एक वर्ष थप्न स्वास्थ्यले प्रस्ताव पेस गरेको थियो। तर, मन्त्रिपरिषद्ले उनको सेवा अवधि थप गर्ने विषयमा निर्णय नगरेपछि महानिर्देशक पद रिक्त नै छ।

सम्बन्धित शिर्षक :