विपन्नलाई उपचारमा सास्ती आर्थिक अभावले ३० वर्षीय विनोदको उपचार हुन सकेन

गुल्मी / गुल्मीको इस्मा गाउँपालिका( ५ लाम्टारीका ३० वर्षीय विनोद नेपाली गुल्मी अस्पतालको बेडमा अचेत भएर पल्टिएका छन् । अस्पतालका अनुसार ब्रेनमा रगत बगेको छ ।

उनी गुल्मी अस्पतालबाट थप उपचार सम्भव नभएपछि पाल्पा पुगे । जेनतेन उपचार हुने ठाउँमा त पुगे । त्यो अस्पतालमा उपचार गर्ने पैसा भएन । बिहीबार बिहानै रेफरवाल गुल्मी अस्पतालमै आए । विनोद पैसावाला परिवारका हुन्थे भने राम्रो अस्पतालमा लैजाने हेलिकोप्टर आउँथ्यो ।

तर, विपन्न परिवारको एउटा मजदुर ब्रेनमा रगत र आँखामा आँसु बगाएर मृत्यु कुरिरहेको छ । न परको सिंहदरबार न घरको । कसैले देख्दैनन् विपन्न दलित परिवारको पीडा । दैनिक ज्यान जोखिममा परे पनि परिवार फेरि एम्बुलेन्स चढ्न सक्दैन ।

विनोद दम्पती तम्घासमा ज्यालामजदुरी गर्छन् । मंगलबार रेसुंगा नगरपालिका २ का प्रेम थापाकोमा काम गर्ने क्रममा लडेर अचेत भए । श्रीमती २७ वर्षीया सरिता नेपालीले विनोदलाई गुल्मी अस्पताल पुर्‍याइन् ।टाउकोमा गम्भीर समस्या देखिएकाले थप उपचारको लागि गुल्मी अस्पतालले बिरामीलाई बाहिर रेफर गर्‍यो । नेपाली दम्पतीसँग एम्बुलेन्स चढ्ने पैसा थिएन् ।

श्रीमतीले काम गर्ने साहुकोमै पुगेर पाँच हजार मागिन् र श्रीमान् राखेर लुम्बिनी मेडिकल कलेज प्रभास गइन् । विनोदकी श्रीमती सरिताका अनुसार अस्पतालले टाउकोको सिटिस्क्यान गरेपछि अप्रेसन गर्न चार लाख रकम लाग्ने बतायो । तर, सरितासँग सिटिस्क्यानको पैसा तिरेपछि एक हजार साथमा थिएन । अस्पतालले बिरामी भर्ना गर्न भन्यो ।

सरिता पैसाको कारण बिरामी भर्ना गर्न सकिनन् । जसका कारण बिहीबार बिहानै फर्काएर तम्घास नै ल्याइन् । ‘काम गरेर बिहान साँझको हातमुख जोर्नेसँग कहाँ खोज्नु चार लाख । पैसा नभएसम्म गेटबाट भित्र छिर्ने अवस्था छैन,’ उनले भनिन, ‘अब हातमा पैसा नभएसम्म कसरी फेरि एम्बुलेन्स चढौँ ।’ उनले अहिलेसम्म कुनै निकाय र तहबाट एक रुपैयाँ सहयोग नभएको गुनासो गरिन् । विनोदका ११ वर्षीय असिम र चार वर्षीय अमृत नेपाली गरेर दुई छोरा छन् ।

सात वर्षदेखि तम्घासमा ज्याला मजदुरी गरेर नेपाली दम्पती बस्दै आएका थिए । गुल्मी अस्पताल तम्घासका प्रमुख डाक्टर उत्तम पच्याले बिरामीको टाउकोको गम्भीर समस्याकै कारण आफूहरूले पहिले बाहिर पठाएकाले पैसाको कारण अस्पताल छोडेर फर्किनुपर्ने निकै बिडम्बनापूर्ण स्थिति बिरामीको भएको बताए ।

उनले परिवारसँग अर्थ नहुने र गुल्मी अस्पतालमा उपचार सम्भव नहुनेका बीच बिरामीको स्वास्थ्य अझै गम्भीर बन्दै गएको बताए । पच्याका अनुसार पाल्पाका गरिएको सिटिस्क्यान रिपोर्टमा ब्रेनमा रगत बगेको छ । त्यो स्वास्थ्यका दृष्टिकोणले निकै जोखिमपूर्ण अवस्था हो ।नयाँपत्रिकाबाट

सम्बन्धित शिर्षक :