प्रस्तावित भालुबाङ्ग अस्पतालबाट शल्यक्रियामार्फत प्रसुति सेवा सञ्चालन हुने

स्वास्थ्यसमाचार/प्रस्तावित भालुबाङ्ग अस्पतालबाट शल्यक्रियामार्फत प्रसुति सेवा सञ्चालन हुने भएको छ ।राप्ती गाउँपालिका र निक साइमन इन्सिच्यूटको विचमा चार वर्षे सम्झौता भएको हो । सम्झौता छिट्टै कार्यान्वयनमा आउने र कार्यान्वयन भएमा जटिल प्रकारको प्रसुति सेवा सञ्चालन हुने छ ।

सामान्य मात्रै प्रसुति सेवा प्रदान गरिँदै आएकोमा अब जटिल अवस्थाको शल्यक्रियामार्फत प्रसुति सेवा समेत सञ्चालन हुने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले जानकारी लिए । शल्यक्रिया गरेर प्रसुति गराउनुपर्ने अवस्था भएका आमाहरूलाई घोराही अथवा बुटवल रेफर गर्नुपर्ने बाध्यता थियो । शल्यक्रियाका लागि एमडी जनरल फिजिशियनसहितको स्वास्थ्यकर्मी र उपकरण निक साइमनले उपलब्ध गराएको छ ।

लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाले सेवा सञ्चालनको लागि व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ । सम्झौता पत्रमा राप्ती गाउँपालिकाको तर्फबाट अध्यक्ष प्रकाश बिष्ट, लालमटिया स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष गेमे खड्का ,स्वास्थ्य चौकि इन्चार्ज कृष्णप्रसाद श्रेष्ठ तथा निक साइमन इन्सिच्यूटका तर्फबाट बाट कार्यकारी निर्देशक डा. अनिल बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

लालमटिया स्वास्थ्यचौकीमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजित थारू, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी, निक साइमन इन्सिच्यूटका वरिष्ठ कार्यक्रम प्रबन्धक डा. कासिम साह, विभिन्न वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, निवर्तमान गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, निवर्तमान वडा अध्यक्ष तारा बहादुर डि.सि, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, स्वास्थ्य शाखा प्रमुख नारायण रावत लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित शिर्षक :