गुल्मी अस्पतालमा बिरामीको विवरण अनलाइनबाटै हेर्न सकिने

स्वास्थ्यसमाचार/ जिल्ला अस्पताल गुल्मीले बिरामीको स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ। अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको हो ।

यो सुविधाले रोगको निदान र उपचारको गुणस्तर बढाउने अस्पतालले जनाएको छ । यससँगै अस्पतालले स्वास्थ्य सूचना प्रणाली स्तरवृद्धिमा स्वास्थ्य बीमा तथा डिएचआइएस–२ इन्टिग्रेसन गरी दुई महत्वपूर्ण विशेषताहरु समेत कार्यान्वयन गरेको छ । स्वास्थ्य बीमा बोर्ड प्रवद्र्धित स्वास्थ्य बीमामा आवद्व विरामीहरुको इलिजिविलिटी अर्थात बाँकी बीमा सुविधा रकम हेर्ने सकिने र बीमा दावी पनि इएमआर सफ्टवेयर मार्फत डिजिटल रुपमै गर्न सकिने इन्टिग्रेटेड सिस्टम सुरु गरेको छ ।

बिरामीको प्रत्येक बिल स्क्यान गरी अपलोड गर्नु नपर्ने गरी स्वास्थ्य सूचना प्रणालीबाट सिधै बिरामीको बिल अपलोड गर्न सकिने भएको छ । यसले गर्दा समयको बचत हुनुका साथै बिगतमा जस्तो तोकिएको समय सीमा भित्र बीमा दावी गर्न नसक्दा अस्पतालले नोक्सान व्यहोर्नुपर्ने समस्याको समाधान हुनेछ । त्यसैगरी, डिएचआइएस–२ इन्टिग्रेसनले अब अस्पताल सुचना प्रणालीलाई नेपाल सरकारको एचएमआइएस रिपोर्टिङ प्लेटफर्मसँग जोडेको छ ।

अस्पतालको मेडिकल रेकर्डरलाई अस्पतालको स्वास्थ्य सुचना प्रणालीमार्फत डिएचआइएस–२ प्लेटफर्ममा सिधै मासिक रिपोर्टहरु पठाउन सकिने भएको छ । यसले गर्दा विगतमा जस्तो प्रत्येक शाखाबाट डाटा संकलन गरी डिएचआइएस –२ प्लेटफर्ममा म्यानुअल डाटा इन्ट्रि गर्नु पर्ने छैन । अस्पतालले बिरामीहरुको सहजतालाई मध्यनजर गर्दै अनलाइन अपोइन्टमेन्ट र पोर्टल सेवा पनि सुचारु गर्ने तयारी गरेको छ ।

यसमार्फत बिरामीहरुले अस्पतालमा कार्यरत आफुले चाहेको डाक्टरसँग मोबाइल वालेटमार्फत घरमै बसेर अपोइन्टमेन्ट बुक गर्न र परामर्श शुल्क भूक्तानी गर्न सक्नेछन् र साथसाथै बिरामीहरुले आफ्नो ल्याब टेस्ट रिपोर्टहरु पनि घरमै अनलाइनमार्फत् हेर्न सक्नेछन् ।

यी सेवाहरु गुल्मी अस्पताल, निक साइमन्स इन्टिच्यूट र अस्पतालहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर)सफ्टवेयर सेवा प्रदान गरीरहेको कम्पनी कोजेन्ट हेल्थको सहकार्यमा संचालन गरेको हो ।

सम्बन्धित शिर्षक :