साकोसद्वारा एकीकरण दिवसमा रक्तदान, ९६ पाउण्ड रगत संकलन

स्वास्थ्यसमाचार/ रुपन्देहीका ११ वटा सहकारी संस्था एकीकरण भइ सञ्चालनमा रहेको सबैको बचत तथा ऋण सहकारी संस्था लि तिलोत्तमा ५, मणिग्रामले रक्तदान कार्यक्रम आयोजना गरि एकीकरण दिवस मनाएको छ । रुपन्देही मणिग्राममा हिजो आयोजित रक्तदान कार्यक्रममा ९६ पाउण्ड रगत संकलन भएको थियो । कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

रक्तदान कार्यक्रम उद्घाटन सत्रमा प्रमुख अतिथि स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको फाइदाका बारेमा जानकारी दिनु भएको थियो । रक्तदान गर्दा विभिन्न रोगहरुको निःशुल्क परिक्षण हुने हुँदा आफैलाई कुनै रोग लागेको भए समयमै जानकारी पाइने र शरिरमा खेर जाने रगतले अर्को मानिसको जीवन बचाउने जस्तो पूण्यकार्य समेत हुने उहाँले जानकारी दिनु भयो ।

प्रमुख अतिथि चौहान क्षेत्रीले संस्थाका सल्लाहकार उद्योगी नेत्र पाठकलाई रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।कार्यक्रममा संस्थाका सेयर सदस्य, सञ्चालक, सल्लाहकार, कर्मचारी एवं स्वरोजगार अटोरिक्सा सञ्चालकहरुले स्वेच्छिक रक्तदान गरेका थिए । संस्थाको पहिलो एकीकरण दिवसका अवसरमा साताव्यापी रुपमा विविध कार्यक्रमहरु आयोजना गरिएको थियो ।

२०७७ चैत्र २९ गते रुपन्देहीका १० सहकारी बीच एकीकरण भई सबैको बचत तथा ऋण सहकारी संस्था लि। ले दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो ।उप समिति संयोजक एवं संस्थाका सञ्चालक चक्र पाठकको अध्यक्षतामा सञ्चालित कार्यक्रममा रक्तदान कार्यक्रम र संस्थाको एकीकरण दिवसका बारेमा सञ्चालक देवप्रसाद गुरुङले जानकारी गराउनु भएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सञ्चालक टिकाराम न्यौपानेले गर्नुभएको थियो ।

सम्बन्धित शिर्षक :