डेंगु रोग नियन्त्रणको प्रयास फितलो

स्वास्थ्यसमाचार/लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण नेपालमा बर्सेनि बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै गए पनि नियन्त्रणको प्रयास फितलो देखिएको छ । केही वर्षअघि तराई–मधेसका जिल्लामा मात्र देखापर्ने यो रोग पछिल्ला वर्षमा पहाडी जिल्लामा समेत देखापर्न थालेको छ । राजधानीमै समेत डेंगु संक्रमित बिरामी पाइएको छ ।

सन् २००४ मा पहिलोपटक नेपालमा यो रोगबाट संक्रमित पाइएको थियो । त्यतिबेला नेपाल आएका एक विदेशी नागरिकमा डेंगु संक्रमण पाइएको थियो भने डेढ दशकको अन्तरालमा यो रोगले महामारी कै रूप धारण गरेको छ । तराई–पहाड गरी हाल कम्तीमा ४२ जिल्लामा यो रोगको संक्रमण देखापरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मकवानपुर, सुनसरी, कास्की, चितवन, झापामा डेंगु संक्रमितको संख्या बढी छ । समयमै रोग पहिचान नभए वा उपचार नहुँदा यो रोग प्राणघातक हुनसक्छ । बर्सेनि डेंगुका कारण कैयौंको मृत्यु हुने गरेको छ । लामखुट्टेकै माध्यमबाट सर्ने भएकाले यो रोगले छोटो समयमै विकराल रूप धारण गरेको हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको करिब आधा जनसंख्या यो रोगको जोखिममा छ ।

नागरिकमा सचेतना, घर–आँगन आसपास सरसफाइ यो रोग नियन्त्रणका लागि आधारभूत विषय हो । लामखुट्टेबाट बच्न सकेमा यो रोगको संक्रमणबाट जोगिन सकिन्छ । सरकारले लामखुट्टे नियन्त्रण तथा सरसफाइका योजना प्रभावकारी ढंगले तर्जुमा गर्न सकेको छैन । १५ वर्ष अघि एक जनामा पाइएको यो रोगको संक्रमण हाल हजारौंमा पाइन थालेको छ । गर्मी मौसममा महामारी फैलिन थालेपछि सरकारी स्तरबाट केही सक्रियता देखाउने गरे पनि जाडो याममा स्वतः नियन्त्रणमा आउने यो रोग आवधिक भएकै कारण पनि नियन्त्रणका लागि सरकारको मुख्य योजनामा पर्न सकेको छैन ।

एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातका पोथी लामखुट्टे नै डेंगुका वाहक हुन् । तिनका अन्डा, लार्भा र प्युपा नष्ट नगरेसम्म डेंगु नियन्त्रणमा आउन सक्दैन । यिनै लामखुट्टेका पिँढीले बर्सेनि डेंगु संक्रमण फैलाइरहेका हुन्छन् । सार्वजनिक स्थल, तलाउ, पोखरी लगायतका क्षेत्रमा सरकारले लामखुट्टे नियन्त्रणका लागि ठोस कार्ययोजनासहित प्रभावकारी ढंगले काम गर्नुपर्ने देखिन्छ । नागरिकस्तरमा पनि आप्mनो घर–आँगन सफा राख्ने, पानी जम्न नदिने, लामखुट्टेबाट जोगिनेजस्ता विषयमा जनचेतना जगाउन सक्दा मात्र यो रोग न्यूनीकरण गर्न सकिन्छ । सरकार र नागरिक बीचको सहकार्यबाटै यो रोग नियन्त्रणमा लिन सकिन्छ । यसका लागि सरकारले नै पहल गरिहाल्नु जरुरी छ ।

सम्बन्धित शिर्षक :