क्यान्सरको उपचार नेपालमै सम्भव छ विदेश जानु जरुरी छैन:डा पण्डित

स्वास्थ्यसमाचार/हरेक किसिमको क्यान्सर रोेगको उपचार नेपालमै सम्भव भएको हुदाँ त्यसको पहिचान, पहिचानपछि उपचारको सुरुवातमा ढिलाई गर्न नहुने क्यान्सर रोग विशेषज्ञहरुले सुझाव दिएका छन् ।

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी र नेपाल बाल कल्याण संस्थाको आयोजना तथा नेपाल क्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा भैरहवामा मंगलबार आयोजित सचेतना कार्यक्रममा विज्ञहरुले उक्त सुझाव दिएका हुन् ।

कार्यक्रममा बोल्दै बाल क्यान्सर रोग विशषज्ञ डाअन्जली पण्डितले भनिन्, ‘क्यान्सर धनी गरीब जोसुकैलाई हुन सक्छ । भोलिका दिनमा मलाई पनि हुन सक्छ, तपाईलाई पनि हुन सक्छ । यसैले क्यान्सर भयो भन्दैमा आत्तिने होइन, त्यसको उपचारमा लागि हाल्नुपर्छ । उपचारको लागि नेपालमै सम्भव छ , विदेश जानु जरुरी छैन ।’

बोनम्यारोको ट्रान्सपलान्ट गर्ने नेपालकै पहिलो विशेषज्ञ चिकित्सक समेत रहेकी डा। पन्डितले नङ र कपालबाहेक शरीरको हरेक अंगमा क्यान्सर हुने समेत बताइन् ।नेपाल क्यान्सर अस्पतालमा कार्यरत डा। पण्डितले बालबालिकामा हुने क्यान्सर रोगको संकेत, त्यसको उपचार विधिको बारेमा अभिभावक बढी सचेत हुनुपर्ने समेत बताइन् ।

सिद्धार्थनगरका सामुदायिक तथा संस्थागत विद्यालयका गरी पाँच सय भन्दा बढी विद्यार्थी, शिक्षक तथा लायन्स लिडरहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा बालबालिकाको आँखामा हुने रेटीना ब्लास्टो क्यान्सर रोगका विशषज्ञ डा ज्ञानेन्द्र लामिछानेले आँखामा हुने क्यान्सर रोगको बारेमा प्रस्टाउँदै त्यसको उपचार विधि र संकेतको बारेमा जानकारी दिएका थिए । त्यसै गरी बालरोग विशषज्ञ डा। राजु काफ्लेले बालबालिकालाई लाग्ने विभिन्न प्रकारको क्यान्सर रोगको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल क्यान्सर सहयोग समुहका अध्यक्ष दिलिप भट्टराईले प्रत्येक बालबालिको उपचारको हक रहेको बताउदैं क्यान्सर पीडितको उपचार, स्याहार सुसार र सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिए ।कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले स्थानीय सरकारले बालबालिको उपचारको लागि विभिन्न संघ–संस्थाको सहकार्यमा सहयोग गर्ने बताए । उनले क्यान्सर लागेर उपचार गर्नु भन्दा पहिले लायन्स क्लब भैरहवा ग्रीन सिटीले जस्तै ठूलो संख्यामा लक्षित वर्ग राखेर सचेतना चलाउनु महत्वपुर्ण हुने समेत बताए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टू नेपालका पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले लायन्स क्लबहरुले विधागत रुपमै बालबालिका लाग्ने क्यान्सर रोगको विषयमा देशैभर सचेतना तथा उपचारमा सहयोग गरिहरको बताए । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष गोविन्द प्रसाद गिरीले बालबालिकामा हुने क्यान्सरको बारेमा नगरका करिब सबै विद्यालका प्रतिनिधिमूलक विद्यार्थी भेला गराई कार्यक्रम गरिरहँदा यो सन्देश घरघरमा पुग्ने बताए ।नेपाल बाल कल्याण संस्थाका अध्यक्ष अधिवक्ता शिव प्रसाद गौडेलले बालबालिको उपचार, स्याहारसुसार र जानकारी पाउने अधिकारलाई संरक्षित गर्ने सबैको दायित्व रहेको बताए ।

कार्यक्रम संयोजक संगिता जिसीको स्वागत, लायन्स क्लब भैरहवा ग्रीनसिटीका कोसअध्यक्ष बिना पौडेलको ध्यजा अभिवादन ,लायन्स क्लब भैरहवा ग्रीन सिटीका सचिव थानेश्वर पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ भैरहवा लुम्बिनीका अध्यक्ष लक्ष्मी के सी, नेपाल क्यान्सर सहयोग समूहका सल्लाहकार हुतानन्द खनाल, लायन्स क्लब ३२५ का डिष्ट्रिक डेपुटी चिफ महेशचन्द थापा, विजय पाण्डे, अनिता थापा, रुपमा हिराचन, सुशिल गुरुङ, कृतेश श्रेष्ठ, संगम न्यौपाने, शिवनाथ गुप्ता, तनु शर्मा कसौधन लगायतले बालबालिकामा हुने क्यान्सर रोगकोविरुद्ध सबैको सहकार्य र एकता भएमा सहजै पहिचान र न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

सो अवसरमा क्यान्सर रोग पीडित साढे ४ बर्षिय बालक आशिष अलिको उपचारको लागि नेपाल बाल कल्याण संस्था र लायन्स क्लब भैरहवा ग्रीन सिटीले संयुक्त रुपमा ५१ हजार रकम सहयोग गरेका छन् । त्यसै गरी सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीले ५० हजार, डा। राजु काफ्लेले ४० हजार सहयोग गरेका छन् ।

रुपन्देहीको मर्चवारका अलिलाई रगतमा हुने क्यान्सर रोग लागि यति बेला बोनम्यारो ट्रान्सप्लान्टको तयारीमा रहेका छन् । रकम जुटाउन विभिन्न संघ–संस्थाले अपील समेत गरेका छन् ।

 

सम्बन्धित शिर्षक :