सैनामैना–९ मा मानसिक स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न

स्वास्थ्यसमाचार/ रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ९ मा मानसिक स्वास्थ्यसम्बन्धी दुईदिने तालिम कार्यक्रम सम्पन्न भएको छ । सैनामैना नगरपालिका वडा नम्बर ९ को आयोजनामा तालिम सम्पन्न भएको हो ।

कोरोना महामारी तथा विभिन्न कारणले पुरुषको तुलनामा महिलालाई मानसिक स्वास्थ्य समस्या हुने देखिएकोले तालिम आयोजना गरी वडाभित्रका ३० जना महिलाहरुलाई तालिम दिएको वडाअध्यक्ष डोलराज भण्डारीले बताए । उनले भने, ‘हामीले ९ नम्बर अरु वडा भन्दा फरक सबै क्षेत्रका रुपले पिछडिएको छ, महिलाहरुलाई सुरु देखि नै विभिन्न तालिम दिएर आत्मनिर्भर बनाउनेतर्फ लागेका छौं ।

’उनले विगत ३ वर्षदेखि विश्वमा फैलिएको कोरोना महामारीबाट पनि नेपाल अछुतो नरहेको र त्यसको असर सबै क्षेत्रमा परेको कारणले वडाले गाउँटोलमा रहेका महिलाहरुलाई मानसिक तालिम दिएको बताए । तालिम लिएका महिलाहरुले आफु र छिमेकी टोललाई जनचेतना फैलाउन सहयोग गर्ने उनले बताए ।

समापन कार्यक्रममा बोल्दै तालिममा सहभागि महिला पार्वती सहानी छहरेले भनिन्, ‘हाम्रो लागि यो तालिम धेरै उपलब्धीमुलक भयो । मानसिक रोग भन्ने सुनेका थियौ । वास्तवमा यो के हो र समस्या समाधान गर्नेबारे जानकारी पायौं, खुसी लाग्यो ।

उनले यो तालिम वडाका सबै महिलाहरुलाई दिनु आवश्यक रहेको समेत बताइन् । ‘हामीले टोल छिमेकमा चेतना जगाउन सक्ने भएको छौं, अझै आफै तालिममा सहभागी हुने हो भने धेरै उपलब्धीमूलक हुनेछ, ’उनले भनिन् ।अर्का सहभागी उमा तामाङले पनि तालिम उपलब्धीमूलक रहेको बताइन् । उनले वडाले यस्तैयस्तै अन्य तालिम पनि ल्याउनुपर्ने बताइन् । तालिममा सहभागी कविता भण्डारीले तालिम फलदायी भएको बताइन् ।

तालिम समापन समारोहमा बोल्दै प्रशिक्षक डा. सन्तोष भुसालले नेपालमा करीब २ लाख ६५ हजार मानिसमा कुनै न कुनै किसिमको मानसिक रहेको बताए । उनले नेपालमा पनि वार्षिक पाँच हजारभन्दा बढीले मानसिक अस्वस्थताका कारण आत्महत्या हुने गरेको तथ्यांक रहेकोे बताए ।

उनले कोरोना महामारीका कारण नेपालमा दैनिक सरदर १७ जनाले आत्महत्या गरेको तथ्यांक रहेको र जसमध्ये ५७ प्रतिशत १६ देखि ३५ वर्षको उमेरका रहेको बताए । यो समस्या गाउँघरमा भन्दा पनि शहरबजारमा बसोबास गर्ने प्राय : सबै उमेरका व्यक्तिमा कुनै न कुनै किसिमको मानसिक समस्या हुने बताए ।

अर्का प्रशिक्षक बसुन्धरा भुसालले समाजमा अहिले पनि मानसिक समस्याबाट गुज्रिरहेका व्यक्ति र परिवारका सदस्यलाई कोरोना महामारीले थप पीडा दिएको बताइन् । उनले प्रारम्भिक चरणमै मानसिक स्वास्थ्यबारे जानकारी दिनु आवश्यक भएको बताइन् । उनले यस्ता तालिममले जनचेतनाका लागि राम्रो हुने बताइन् ।

सीता पौडेको अध्यक्षताम, वडाअध्यक्ष डोजराज भण्डारीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमको सञ्चालन वडा सचिव रिना गिरीले गरेकी थिइन् ।

सम्बन्धित शिर्षक :