बुटवल उपमहानगरका प्रत्येक विद्यालयमा खोप केन्द्र स्थापनाको तयारी

स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाले प्रत्येक विद्यालयमा खोप केन्द्र स्थापना गरी बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने तयारी गरेको छ ।

कम्तिमा सय जना विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र स्थापना गरिने र एक सयभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयहरुका लागि दुई वा सोभन्दा बढी विद्यालयलाई जोडेर खोप केन्द्र स्थापना गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

बालबालिकाहरुका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । बुटवलमा खोप लगाउन छुटेका नागरिकहरुले समेत कार्यालयमा जानकारी गराएको अवस्थामा तत्काल खोपको व्यवस्था गरिने उनको भनाइ छ ।

बुटवल क्षेत्रमा स्थायी रुपमा बसोवास गर्ने सबै १८ वर्षमाथिका नागरिकहरुलाई खोप दिइएको उनको दावी छ । बुटवल उपमहानगर क्षेत्रमा अधिकांश भाडामा बस्नेहरु रहेको क्षेत्र भएकाले छुटेका हुन सक्ने नगरपालिकाको अनुमान छ ।

अस्थायी रुपमा बसोवास गर्नेहरुका लागि पनि सूचना आएमा खोप उपलव्ध गराइने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताउँछन् । ‘हामी निरन्तर खोप अभियानमै छौँ । अझै पनि कतै छुट हुन सक्छ । खबर पाएमा हामी तुरुन्त खोपको व्यवस्था गर्छौं’ उनले भने । बुटवल उपमहानगरले महानगरका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइसकिएको दावी गरेको छ ।

सम्बन्धित शिर्षक :