औद्योगिक व्यापार मेलामा मास्क र स्यानिटाइजर अनिवार्य गर्न सुझाव

स्वास्थ्यसमाचार/ बुटबलमा यहि पुसको ८ गतेदेखि ‘चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी, व्यापार मेला तथा पर्यटन महोत्सवमा कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिन र यसबारे सचेतनाका कार्यक्रम संञ्चालन गर्न सुझाव दिएका छन ।

मेलाको सुरक्षा व्यवस्थापनबारे मेला सचिवालयमा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरुले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर मेला सञ्चालन गर्न सुझाव दिएका हुन । उनीहरुले त्यस्तै सवारी आवागमन सहज गर्न ट्राफिक व्यवस्थापन, प्राथमिक उपचार कक्ष, आपतकालीन कक्ष, सूचना केन्द्र, एम्बुलेन्स र दमकल र पर्याप्त स्वयंसेवक पनि तयारी हालतमा राख्न सुरक्षा निकायका प्रमुखहरुले सुझाव दिए् ।

बैठकमा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख योगेन्द्रसिंह थापाले बुटवलका मेलामा ट्राफिक व्यवस्थापन मुख्य समस्या हुने गरेकाले यसमा ध्यान दिन सुझाव दिए । दंगा नियन्त्रण प्रहरी गण बुटवलका प्रमुख एसपी रामेश्वर कार्कीले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिन र यसबारे सचेतनाका लागि माइकिङ गर्न सुझाव दिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले सम्भव भएसम्म मूल प्रवेशद्वारमा मेटल डिटेक्टरले जांच गरेर मात्र दर्शकलाई प्रवेश गराउन सुझाव दिए ।

कार्यक्रममा सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनी, वडा प्रहरी कार्यालय रामनगरका प्रमुख सुदर्शन पन्थी, सशस्त्र प्रहरी सुरक्षा बल बुटवलका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरज पाण्डे, पूर्व प्रहरी सेक्युरिटी सर्भिसका रणबहादुर कुंवर, पश्चिम नेपाल बस व्यवसायी प्रालिका सल्लाहकार रमेश अधिकारी लगायतले औद्योगिक प्रदर्शनी र व्यापार मेला सुरक्षित र सफल बनाउन सबैको सहयोग रहने प्रतिवद्धता जनाए ।

बैठकमा उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोविन्दराज गैरे, उद्योग उपाध्यक्ष विष्णु पाण्डे, वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी, महासचिव पदम जीसी, कोषाध्यक्ष अन्जु पाण्डे, सचिव यमलाल मरासिनी, सुरक्षा व्यवस्थापन उपसमिति प्रमुख देवेन्द्र रानाले सुरक्षा प्रमुख र संघसंस्थाको राय सुझावलाई मनन् गरेर मेलालाई सुरक्षित बनाउने बताएका थिए ।

स्वदेशी तथा विदेशी गरी करिब ५ सय स्टल रहने मेलाको ८० प्रतिशत तयारी पूरा भएकोे प्रचारप्रसार उपसमिति संयोजक जनेश पन्थीले बताए । ‘स्वाधिन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण’ भन्ने मुल नारा सहित उद्योग व्यापार संघ बुटवलले यहि पुसको ८ गतेदेखि ‘चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी, व्यापार मेला तथा पर्यटन महोत्सवको हुने भएको छ ।

सम्बन्धित शिर्षक :