कपिलवस्तुमा झाडापखालाका बिरामीको संख्या तीन सय नाघ्यो

स्वास्थ्यसमाचार/कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको महामारी बढ्दो छ । आइतबारदेखि फैलिएको महामारीबाट दुर्इ जनाको मृत्यु भएको छ भने तीन सय बढी बिरामी छन् । झाडापखालाको महामारीका कारण कृष्णनगर नगरपालिकाको वडा नम्बर– ९ बहादुरगञ्जका ५ वर्षीय राज कश्यप र वडा नम्बर ८का ४० वर्षीय रामप्रसाद केवटको मृत्यु भएको बताइएको छ ।

कश्यपको निजी क्लिनिकमा उपचारको क्रममा तथा केवटको उपचार अभावमा घरमै मृत्युभएको मृतक परिवारका सदस्यले बताएका छन् । अस्पताल श्रोतका अनुसार ३५ जना बिरामीलाई अन्य अस्पतालहरूमा रेफर गरिएको छ भने एक सयजना सञ्चो भइ घर फर्केको अवस्था छ । शिवराज अस्पतालका निमित्त मेडकल सुपरिटेन्डेन्ट मुकेश चौधरीले अस्पतालमा भर्ना रहेका एक सय ६५ जना बिरामीको उपचार जारी रहेको बताएका छन् ।

कतिपयलाई स्कुल, खुला चौर तथा प्रतिक्षालयमा राखेर उपचार गरिएको छ । महामारी बढ्दै गएपछि स्थानीय निजी क्लिनिक र स्वास्थ्य चौकीहरू पनि भरिभराउ छन । पानीबाट फैलिने रोग भएकोले दुषित पानी वा खेतको माछा खाँदा महामारी बढेको हुनसक्ने चिकित्सकहरूको प्रारम्भिक अनुमान छ ।

महामारी नियन्त्रण तथा बिरामीहरूको उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र जिल्ला अस्पताल तौलिहवाबाट चिकित्सकहरूको टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए । यस्तै शिवराज नगरपालिका र कृष्णानगरको विभिन्न स्वास्थ्य चौकीहरूबाट पनि चिकित्सक र नर्सहरू खटाइएको उनले जानकारी दिए ।

महामारीबाट कृष्णनगर नगरापलिकाको बहादुरगञ्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा गाउँ ग्रसित छन् । बिरामीहरूको उपचार तथा महामारी नियन्त्रणमा कुनै कन्जुस्याइँ नरहेको नगरप्रमुख रजत प्रताप शाहले जिकिर गरे । उनले महामारी फैलिएको सबै वडामा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरू गर्न सम्बन्धित वडाध्यक्षलाइ निर्देशन दिइएको बताए ।ईकागजबाट।

 

सम्बन्धित शिर्षक :