टिकट काट्न २० रुपैया भएन, घर मै राख्दा झाडा पखालाले मृत्यु

स्वास्थ्यसमाचार/कृष्णनगर नगरपालिका ८ बहादुरगन्जका वर्ष ४८ का राम प्रसाद केवट दिउसो ४ बजे शौचालय गएका थिए । घरमा शौचालय नभएको कारण उनी गाउँ नजिकैको खेतमा शौच गरे ।

उनलाई ४ पटक सम्म पातलो दिशा गएको थियो । दैनिक ज्यादा मजदुरी गर्दै केवट त्यो दिन काम पाएका थिएनन् । काम नभए पछि उनी घर मै थिए । राती ९ बजे पछि उनको स्वास्थ्यमा थप समस्या आउन सुरु गरेको थियो ।

पातलो दिसा सँगै बान्ता समेत सुरु भयो । त्यही झाडा बान्ताका कारण केवटले उपचार नपाई ज्यान गुमाए । केवटको घर देखी शिवराज अस्पतालको दुरी करिब ३ सय मिटर रहेको छ । कृष्णनगर नगरपालिकाबाट सञ्चालित अस्पतालमा उपचारका लागि धेरै खर्च पनि लाग्दैन । बिस रुपैयाँमा इमरजेन्सी टिकट काटेर उपचार गर्न सकिन्थ्यो ।

तर केवट परिवार सँग टिकट काट्ने पैसा समेत थिएन । पैसा नभए पछि केवटका पत्नी दुखनाले अस्पताल जाने आँट सम्म गरेनिन् । रात ११ बजे उनले घर भित्र प्राण गुमाए । ‘अस्पतालमा लाग्ने टिकट काट्नको लागि पैसा थिएन । पैसा नभए पछि उपचार गराउन जान सकिन । दाह संस्कार गर्न समेत छिमेकी वमन सिंहले कफन किनेर दिएको थिए,’ दुखना भन्छिन् , ‘घरमा अरू कसैलाई केही भएको छैन ।

४ बजे समस्या देखिए पछि ९ बजे सम्म ठिकै हुनु हुन्थ्यो झाडा पखालाको कारणले आफ्नो पति गुमाउँछु भन्ने लागेको थिएन । टिकट काट्न २० रुपैयाँ भएको भए अस्पताल पुराउँथे होला । ’ अति विपन्न केवट एक पत्नी ३ छोरा २ छोरी सहित सानो झुप्रोमा बस्दै आएका थिए । इँटा माथि इँटा खप्टाएर त्रिपालको छानो भएको उनको घर रहेको छ ।

खानको लागि ५ लिटर जाने तेलको आधा भागमा चामल रहेको थियो । राम प्रसादको मृत्यु भए पछि कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले तिन हजार रुपैयाँ सहयोग गरेका थिए । आर्थिक अवस्था अति न्यून भएको कारणले परिवारका सदस्य हाल सम्म विद्यालय भएका छैनन् । भारत बस्दै आएका जेठो छोरो कोरोनाको कारणले रोजगारी गुमे पछि नेपाल बस्दै आएका थिए ।

माइलो छोरा ३ दिन देखी स्थानीय प्लाई उद्योगमा काम गर्न लागेका थिए । कान्छी छोरीले घरमा पालेका बाख्रा चराउने काम गर्दै आएकी थिइन् । केही महिना अगाडी घरमा पालेका सबै बाख्रा (५ ओटा) मरेको थियो । दुखनाले कर्जा लिएर भए पनि पतिको काजक्रिया गर्ने इच्छा प्रकट गरेकी छिन् ।

सम्बन्धित शिर्षक :