भेरी अस्पतालका चिकित्सकद्वारा मल्टीलिगामेन्टको सफल शल्यक्रिया

स्वास्थ्यसमाचार/ भेरी प्रादेशिक अस्पतालमा नेपालगञ्जमा पहिलोपटक ‘मल्टीलिगामेन्ट’ को सफल शल्यक्रिया गरिएको छ । यसअघि राजधानी काठमाडौंबाट प्रविधि र दक्ष जनशक्ति निम्त्याएर गरिने गरेको उक्त उपचार भेरी अस्पतालकै चिकित्सकले गरेको पहिलो हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले दिएको जानकारी अनुसार, वरिष्ठ कन्सल्ट्यान्ट अर्थोपेडिक डा. तिर्थेन्द्र खडकाको टोलीले रुकुमकी २८ वर्षीया प्रमिला थापाको घुँडाको सफल अपरेसन गरेका हुन् ।

दुई महिना अघि उनको बाँया खुट्टाको घुँडामा चोट लाग्दा तीन वटा नशामा असर परेको थियो । ‘यसअघि मल्टीलिगामेन्टको शल्यक्रिया काठमाडौँका चिकित्सकले गर्ने गरेका थिए,’ डा. थापाले भने, ‘हाम्रो अस्पतालका चिकित्सकको टिमले पहिलोपटक सफल शल्यक्रिया गरेको हो ।’ उनले यो सफलतासँगै अब भेरीमा यसखालको सेवा नियमित हुने बताए ।

वरिष्ठ कन्सल्ट्यान्ट अर्थोपेडिक डा. खडकासहित चार जनाको टोलीले एसील, पीसीएल र एलसीएल नशाको सफल शल्यक्रिया गरेको जानकारी दिंदै अस्पतालका मेसु डा. थापाले दूरबिनका माध्यमबाट सिंगल लिगामेन्टको दुई वर्षदेखि उपचार भइरहेको बताए । भेरीमा यो दुई वर्षमा लिगामेन्टको मात्र सय भन्दा बढी बिरामीको शल्यक्रिया भइसकेको छ ।

भेरीलाई विशिष्टकृत सेवा अस्पतालका रुपमा विकास गरिने सरकारको निर्णयसँगै विभिन्न सेवाहरु थप गरिंदै लगिएको अस्पतालका मेसु डा. थापाले वताए् । ‘दक्ष जनशक्तिको व्यवस्थापनसँग सेवा थपिंदै लगिएको छ,’ डा. थापाले उत्साहित हुँदै भने, ‘ग्याँस्ट्रोसर्जरी, स्पाइनसर्जरी, नाक कान घाँटीको शल्यक्रिया पनि सफल ढंगले भइरहेको छ ।’

गम्भीर बिरामी हुँदा भारत वा काठमाडौं जानुपर्ने बिरामीको बाध्यतालाई कम गर्दै जान भेरी अस्पताल प्रयासरत रहिरहेको मेसु थापाको भनाइ छ । भेरीलाई विशिष्टकृत अस्पतालका रुपमा सेवा विस्तार गरिंदैछ,’ डा. थापाले भने ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :