लुम्बिनी प्रदेश सरकारको प्राथामिकता कोरोना रोकथाम र नियन्त्रण हो: मन्त्री खडका

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले आफूहरुको मुख्य प्राथमिकता कोरोना रोकथाम र नियन्त्रणमा रहेको बताए । उनले भने, मुलुक यतिबेला कोरोनाले थलिएको छ, तेस्रो लहरले थप क्षति नपुराओस भन्ने उद्धेश्यले प्रदेशवासीलाई खोप दिने तयारीमा छौं । हाम्रो पहिलो लक्ष्य भनेको कोरोना रोकथाम हो ।

मन्त्री खड्काले १८ वर्षभन्दा मुनिकालाई खोप लगाएर विद्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको दाबी गरे । कोरोना महामारीले बेरोजगार बस्न बाध्य भएका नागरिकहरुको लागि रोजगारीका अवसरहरु सिर्जना गर्ने विश्वास व्यक्त गरे । थला परेका व्यवसायीहरुलाई राहत प्रदान गरेर अगाडी बढ्न प्रेरित गर्ने उनको भनाई छ ।

मन्त्री खडकाले भने लुम्बिनी प्रदेशको विकास र समृद्धिको लागि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको समेत बताएका छन उनले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वले अध्यादेशबाट ल्याएको बजेटलाई समीक्षा गरेर नयाँ बजेट बनाउन आफूहरु लागि परेको बताए ।रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै लुम्बिनी सरकारका प्रवक्ता समेत रहेका खड्काले सहकार्य, सहमतिबाट बजेट ल्याउ भन्दाभन्दै पनि निवर्तमान सरकारले बलजफल गरि अध्यादेश ल्याएको बताउँदै अध्यादेशबाट आएका र अलपत्र छाडिएका २ वटा विधेयकहरु फिर्ता ल्याएका बताए ।

अघिल्लो सरकारले संघियता कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै आफूहरुले आवश्यक नीति नियमहरु बनाएर अगाडी बढ्ने उनको भनाई थियो । उनले संघीय सरकारका आयोजनाहरुलाई निरन्तरता दिँदै कामलाई चुस्त, दुरुस्त, पारदर्शिता र सुशासनमा जोड दिने बताए ।साक्षात्कार कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा पूर्व प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवि नेपालले सरकारले पुजिगत खर्चमा जोड दिनुपर्ने बताए । उनले कोरोना महामारीले निम्न वर्गका नागरिकहरु समस्यामा परेको बताउँदै राहतका प्याकेजहरु तत्काल ल्याउनु पर्नेमा जोड दिए ।

नेपालले कोरोना भ्याक्सिनलाई प्राथमिकता दिनुपर्ने बताउँदै जनताको जीवन उत्थानको लागि राहतका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । मुलुकको अर्थतन्त्र अगाडी बढाउन तिनाउ डाईभर्सन राम्रो विकल्प रहेको बताए । उनले लुम्बिनीको विकासको लागि भैरहवा अन्तरराष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुंङ मार्गको कामलाई छिटोभन्दा छिटोअगाडी बढाउन सुझाव दिए ।डा.नेपालले सरकार परिवर्तन भइरहने र नयाँ सरकारसँगै नयाँ बजेट आउने खालको क्रियाकलापले योजनाहरु रोकिने, समयमै पुरा नहुने बताए ।

सम्बन्धित शिर्षक :