तिलोत्तमाका मेयर वासुदेव घिमिरे सहित ११ जनालेगरे प्लाज्मा दान

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमणमुक्त भएका जनप्रतिनिधि, कर्मचारीले मंगलबार प्लाजमा संकलनको लागि रक्तदान गरेका छन ।

कोभिड–१९ बाट संक्रमित भई निको भएकाहरुले अन्य संक्रमित बिरामीहरुको जीवन रक्षाको लागि प्लाजमा दान गरेका हुन ।विश्वमा कोरोना भाइरस संक्रमणको निदानको लागि हालसम्म प्रभावकारी औषधि तथा खोप उपलब्ध नभइरहँदा संक्रमितको उपचारमा प्लाजमा थेरापीको प्रयोग हुँदै आएको छ ।

प्लाजमा दान गर्न नगरबासीलाई प्रेरणा मिलोस् भनेर रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले वताए ।त्यसक्रममा नगर प्रमुख बासुदेव घिमिरे, वडाध्यक्ष तामानाथ पाण्डेय, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलसहित ११ जना कोरोना संक्रमणमुक्त हुनुभएकाहरुले प्लाजमा संकलनको लागि रक्तदान गरे ।

यस्तै नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीसहित १३ जनाले पनि रक्तदान गरेकोे नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।रुपन्देहीमा समेत कोरोना संक्रमितको उपचारको लागि प्लाजमाको माग बढ्दै गइरहेको अवस्थामा नगरपालिकाले आफ्नैं कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

नेपाल स्वयंम्सेवी रक्तदाता संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहानका अनुसार प्लाजमाको लागि संकलन गरिएको रगत ६ महिनाभित्र प्रयोग गर्न सकिन्छ ।कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना भाइरस संक्रमणका बिरामीहरुलाई उपचार गरिन्छ । यसका लागि कोरोना संक्रमण देखिएर निको भइसकेको व्यक्तिहरुको रगतबाट छुट्याइएको एन्टिबडी (रोगसँग लड्ने तत्व) सहितको प्लाजमा (जुन रगतमा ५५ प्रतिशत हुन्छ) अर्को संक्रमितलाई दिइन्छ ।

सम्बन्धित शिर्षक :