स्वास्थ्यसमाचार/बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा अध्ययन गरेका ६१ विद्यार्थीले चिकित्सा विज्ञान, नर्सिङ र इन्जिनियरिङ विषयमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई विद्यालयले शुक्रबार बधाई तथा सम्मान गरेको छ ।
विद्यालयमा अध्ययन गरी चिकित्सा विज्ञानतर्फ एमबीबीएसमा ३० र नर्सिङ तथा इन्जिनियरिङतर्फ ३१ विद्यार्थीले छात्रवृत्तिमा नाम निकालेका हुन् । एमबीबीएस प्रवेश परीक्षामा कालिकाका विद्यार्थी शिशिर मल्लले देशभरबाट टप १० मा स्थान हासिल गरेका छन् ।
त्यस्तै निश्चल जिसीले ३५औँ र आयुष पाण्डेले ३९औँ स्थान प्राप्त गरेका छन् । सम्राट मरासिनीले ६९औँ, अजयकुमार चौधरीले ९१औँ, आकाश मिश्रले १५६औँ, आदित्य भण्डारीले १६१औँ, ईशान ज्ञवालीले १८६औँ र गणेश पन्थीले २०८औँ स्थान हासिल गरेको विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिपिशा अर्यालले २२५औँ, शिवनाथ यादवले २७८औँ, दीपक केसीले ३०९औँ, सम्पदा गौतमले ३३८औँ, बालकृष्ण कोहारले ३५४औँ, अर्जुन रिजालले ३५६औँ, राजीव अग्रहरीले ३७०औँ, इन्द्रबहादुर भुजेल मगरले ३८१औँ र अंकित तिवारीले ३९२औँ स्थान प्राप्त गरेका छन् ।
कार्यक्रममा बोल्दै रुपन्देहीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णु पन्थीले कालिका मानवज्ञान माध्यमिक विद्यालय नेपालकै नमुना विद्यालय भएको बताउनुभयो । उहाँले विद्यालयलाई विश्वस्तरमै नमुना बनाउन सरोकारवालाहरूले थप पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
कालिका सामुदायिक विद्यालयहरूको प्राण भएको उल्लेख गर्दै उहाँले विद्यालयलाई उत्कृष्ट बनाउन पूर्व तथा वर्तमान प्रधानाध्यापक, व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीको साझा मेहनत रहेको बताउनुभयो । छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीले देश तथा विदेशमा उत्कृष्ट काम गर्दै सक्षम जनशक्तिका रूपमा योगदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कालिका क्याम्पसका प्रमुख तथा पूर्वप्राचार्य घनश्याम पाठकले कालिका दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा स्थापित भएको बताउनुभयो । सफलता हासिल गरेपछि आफूले अध्ययन गरेको विद्यालयमा अनुभव र उपलब्धि बाँड्दै योगदान गर्न विद्यार्थीलाई उहाँले आग्रह गर्नुभयो ।
कालिका मानवज्ञान माध्यमिक विद्यालय र कालिका क्याम्पसमा गरी १२ हजार ५०० विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो । देश कामभन्दा कुरामा केन्द्रित भइरहेको उल्लेख गर्दै उहाँले कालिकाबाट उत्पादित विद्यार्थीको काम र उपलब्धिलाई महत्त्व दिनुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले शिक्षक, अभिभावक र विद्यार्थीको साझा प्रयासबाट सफलता हासिल भएको बताउनुभयो । विद्यार्थीले छात्रवृत्तिमा नाम निकालेर विद्यालयको गौरव बढाएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि अझ उच्च सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र खनाल र शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रमणि अर्यालले कालिका परिवारको मेहनत र योगदानले विद्यालयले सफलता हासिल गरेको बताउनुभयो । आगामी दिनमा पनि विद्यालयले शैक्षिक क्षेत्रमा थप उपलब्धि हासिल गर्ने विश्वास उहाँहरूले व्यक्त गर्नुभयो ।
कार्यक्रममा कालिका क्याम्पसका अध्यक्ष होमबहादुर गलामी, निवर्तमान अध्यक्ष नित्यानन्द ज्ञवाली, शिक्षा शाखा अधिकृत झविलाल विकलगायतको सहभागिता रहेको थियो । कार्यक्रम सहप्राचार्य दीपक बञ्जाडेले सञ्चालन गर्नुभएको थियो ।


प्रतिकया दिनुहोस्