स्वास्थ्यसमाचार/ केही दिनदेखि भइरहेको अविरल वर्षा र विपद्को सम्भावनालाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रको विपद् व्यवस्थापनका लागि पूर्वतयारी थालेको छ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बिहीबार भएको छलफलमा विपद्का बेला स्वास्थ्य सेवा कसरी सञ्चालन गर्ने, बिरामीको उपचार तथा उद्धारलाई प्रभावकारी बनाउने र स्वास्थ्य संस्थाबीच समन्वय कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो।
छलफलमा स्वास्थ्यकर्मी, बुटबल क्षेत्रका सरकारी सामुदायीक निजी अस्पताल तथा स्वास्थ्य सरोकारवाला प्रतिनिधिको सहभागिता थियो। विपद्का समयमा आवश्यक जनशक्ति, औषधि, रगत, एम्बुलेन्स तथा अस्पतालका शय्या व्यवस्थापनलाई प्रभावकारी बनाउन सबै निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
उपमहानगरपालिकाले विपद् व्यवस्थापनका लागि स्वास्थ्य शाखा प्रमुखको संयोजकत्वमा नौ सदस्यीय स्वास्थ्य विपद् व्यवस्थापन समिति गठन गरेको छ।
समितिमा लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पताल, नेपाल औषधि व्यवसायी संघ, नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र, नेपाल फार्मेसी संघ रुपन्देही, एम्बुलेन्स संघ रुपन्देही र नेपाल मेडिकल एसोसिएसनलगायतका प्रतिनिधि रहेका छन्।
विपद्को अवस्था आए अस्पतालले आवश्यकताअनुसार शय्या छुट्याउने, आकस्मिक उपचारलाई प्राथमिकता दिने र बिरामीको चाप व्यवस्थापनका लागि आपसी समन्वय गर्ने निर्णय गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनुभयो।
उहाँका अनुसार विपद्को समयमा स्वास्थ्य संस्थाबीच तत्काल सूचना आदानप्रदान, बिरामीको व्यवस्थापन, औषधि तथा रगतको उपलब्धता र एम्बुलेन्स परिचालनलाई व्यवस्थित गर्ने गरी पूर्वतयारी गरिएको छ।

नगर प्रमुख पाण्डेले विपद्को समयमा सरकारी तथा निजी स्वास्थ्य संस्थाको सहकार्य आवश्यक रहेको बताउनुभयो। विपद् आएपछि मात्र तयारी गर्नुभन्दा पूर्वतयारी र समन्वयलाई बलियो बनाउनुपर्ने उहाँको भनाइ छ।
“विपद्का कारण स्वास्थ्य सेवा प्रभावित हुन नदिन सबै स्वास्थ्य संस्था र सरोकारवाला निकायबीच सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो, “सरकारी तथा निजी क्षेत्रले आ–आफ्नो जिम्मेवारी पूरा गर्दै एकीकृत रूपमा काम गर्नुपर्छ।”
छलफलमा विपद्का बेला अस्पतालमा बिरामीको चाप बढ्न सक्ने भएकाले आवश्यक शय्या व्यवस्थापन, आकस्मिक उपचार तथा बिरामीलाई अन्य अस्पतालमा पठाउने प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।
त्यसैगरी, औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्ने, रगतको व्यवस्थापन गर्ने तथा आवश्यकताअनुसार एम्बुलेन्स परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो।



प्रतिकया दिनुहोस्