अस्पतालमा बिरामीको चाप बढ्दै थियो। कोही पीडाले छटपटाइरहेका थिए, कोही आफन्तको अवस्थाले आत्तिएका। कसैलाई तत्काल उपचार चाहिएको थियो भने कसैलाई केही शब्दको ढाडस।
त्यही भीडमा नर्स सीता खनाल (मरासिनी) आफ्नो जिम्मेवारीमा खटिइरहेकी थिइन्। बिरामीको अवस्था बुझ्ने, जीवनसूचक हेर्ने, चिकित्सकसँग समन्वय गर्ने, औषधि व्यवस्थापन गर्ने र परिवारलाई आवश्यक जानकारी दिने उनको नियमित जिम्मेवारी हो।
तर झन्डै तीन दशक लामो सेवायात्रामा उनले बुझेकी छन्न-र्सिङको जिम्मेवारी यतिमै सकिँदैन।कहिलेकाहीँ बिरामीलाई औषधिभन्दा बढी आश्वासन चाहिन्छ।
परिवारलाई उपचारभन्दा पहिले भरोसा चाहिन्छ। अनि कतिपय अवस्थामा नर्सको एउटा हँसिलो अनुहार र मीठो बोलीले पनि बिरामीको मनमा बाँच्ने आशा जगाउन सक्छ।
“नर्स र बिरामीको सम्बन्ध उपचारक र सेवाग्राहीको मात्र होइन,” सीता भन्छिन्, “बिरामीको दुःखसुखको सहयात्री बन्नुपर्छ।”
यही सोच बोकेर उनले वि.सं. २०५५ असार १ गतेदेखि लुम्बिनी प्रादेशिक अस्पतालबाट नर्सिङ सेवा सुरु गरेकी हुन्। अहिले उनी यही अस्पतालमा नर्सिङ अधिकृतका रूपमा कार्यरत छिन्।
पीडामा रहेका मानिस देखेर नर्स बन्ने चाहना
बाल्यकालदेखि नै उनलाई बिरामी र असहाय मानिसको पीडाले छुन्थ्यो। अरूले पीडा भोगिरहेको देख्दा उनीभित्र बेचैनी पैदा हुन्थ्यो।त्यही संवेदनाले उनलाई स्वास्थ्य सेवातर्फ डोर्यायो।
“समाजमा रोगले ग्रसित भएर असहाय बनेका मानिसहरूको पीडा देख्दा बाल्यकालदेखि नै मनमा छटपटी हुन्थ्यो,” उनी भन्छिन्, “मानवीय सेवामार्फत प्रत्यक्ष रूपमा पीडामा रहेकालाई नयाँ आशा दिन सकिने माध्यम नर्सिङ हो भन्ने लाग्यो।”
पोखरा नर्सिङ कलेजबाट पीसीएल नर्सिङ र महाराजगन्ज नर्सिङ क्याम्पस, काठमाडौंबाट ब्याचलर इन नर्सिङ पूरा गरेपछि उनले पहिलो रोजगारीका रूपमा लुम्बिनी प्रादेशिक अस्पताल रोजिन्।

घर कपिलवस्तु भएकाले अस्पताल उनको लागि पायक पर्ने ठाउँ पनि थियो। तर अस्पतालसम्मको यात्रा भने सामान्य संयोगले तय भएको थिएन।
पीसीएल नर्सिङ सकेपछि उनका मामा चुडामणि खनालले अस्पतालमा कार्यरत सकुन्तला आचार्यसँग भेट गराइदिए।
आचार्यले तत्कालीन विकास समिति अध्यक्ष जनक कोइरालासँग भेट गराइन्। अस्पतालमा नर्सको आवश्यकता रहेछ। त्यसपछि उनले विकास समिति करारबाट काम सुरु गरिन्।त्यही सुरुवाती अवसर आज झन्डै तीन दशक लामो सेवायात्रामा बदलिएको छ।
सास रोकिएको बच्चादेखि मृत्युको मुखमा पुगेका बिरामीसम्म
नर्सिङ पेसामा उनको सबैभन्दा ठूलो परीक्षा आकस्मिक र गम्भीर अवस्थाका बिरामीसँग काम गर्दा हुने गरेको छ।
गम्भीर जन्म श्वासावरोध भएका नवजात शिशुहरूको पुनर्जीवन गराएका थुप्रै घटना उनको स्मृतिमा छन्। ब्याग एन्ड मास्क भेन्टिलेसनमार्फत बच्चाको सास फर्काउने प्रयास गर्दा हरेक सेकेन्ड महत्वपूर्ण हुन्छ।
“बच्चाले सास फेर्न थालेपछि र रोएको सुन्दा हुने खुसी बयान गर्न गाह्रो हुन्छ,” उनी भन्छिन्।
सुत्केरीपछि अत्यधिक रक्तस्राव भएका महिलाको तत्काल व्यवस्थापन गरेका अनुभव पनि उनका लागि उत्तिकै महत्वपूर्ण छन्। त्यस्ता अवस्थामा समयमै उपचार र समन्वय हुन नसके ज्यान जोखिममा पर्न सक्छ।
कार्डियाक अरेस्ट भएका र अत्यधिक रक्तस्रावका कारण मृत्युको मुखमा पुगेका बिरामीलाई आपत्कालीन प्रोटोकलअनुसार सीपीआर तथा जीवनरक्षक विधिबाट पुनर्जीवन दिन सफल भएका घटनाले उनलाई पेसाप्रति थप ऊर्जा दिएको छ।
एक्लै ड्युटी, जटिल प्रसूति र चार किलोको बच्चा
उनको नर्सिङ यात्रामा पिपरा अस्पतालको एउटा घटना अझै विशेष छ। ड्युटीमा उनी एक्लै थिइन्। साथमा एक जना कार्यालय सहयोगी मात्र थिए। प्रसूतिको क्रममा दोस्रो चरणमा अचानक बच्चाको काँध अड्किने जटिलता देखियो।
“त्यो अवस्था निकै चुनौतीपूर्ण थियो। म एक्लै थिएँ,” उनी सम्झिन्छिन्, “उपलब्ध स्रोत र त्यहाँ रहेका मानिसको सहयोग लिएर तत्काल आवश्यक उपाय अपनायौँ।”
बिरामीका कुरुवालाई समेत आवश्यक सहयोगमा परिचालन गरेर उनले प्रसूति व्यवस्थापन गरिन्। करिब चार किलो तौल भएको बच्चा सकुशल जन्मियो।
“त्यो बच्चा र आमालाई सुरक्षित देख्दा जुन खुसी भयो, त्यो मेरो पेसागत जीवनका अविस्मरणीय क्षणमध्ये एक हो,” उनी भन्छिन्।
अर्को घटना उनलाई भावुक बनाउने खालको छ। महिनौँसम्म अस्पतालको शय्यामा अचेत अवस्थामा रहेका एक बिरामी एक दिन होसमा आए। उनले
मुस्कुराउँदै सीताको हात समाए।“त्यो क्षण म कहिल्यै बिर्सन सक्दिनँ,” उनी भन्छिन्, “बिरामीले हात समाउँदा आफूले गरेको सेवा सार्थक भएको महसुस भयो।”
‘तपाईंहरूको मीठो बोलीले आधा रोग निको भयो’
नर्सको काम उपचार प्रक्रियाको एउटा महत्वपूर्ण कडी हो। तर बिरामीसँगको व्यवहारले उपचारको वातावरणमा पार्ने प्रभाव पनि उत्तिकै महत्वपूर्ण हुने सीताको अनुभव छ।
बिरामी र कुरुवाले वर्षौंको सेवामा दिएका केही शब्द उनका लागि सम्मानभन्दा ठूलो पुरस्कार बनेका छन्।
“म्याडम, तपाईंहरूको हँसिलो अनुहार र मीठो बोलीसँगैको हेरचाहले नै आधा रोग अस्पतालमै निको भयो,” परिवारका सदस्यले भनेको कुरा सम्झिँदै उनी भन्छिन्, “यस्ता शब्द नै हाम्रो लागि सबैभन्दा ठूलो पुरस्कार हुन्।
”उनका लागि बिरामीको मन बुझ्नु पनि उपचारकै एउटा हिस्सा हो।गम्भीर बिरामीका परिवार डराइरहेका हुन्छन्। कतिपय अवस्थामा उनीहरू आशाविहीनजस्तै देखिन्छन्।
त्यस्तो बेला नर्सले आफ्नो भावनालाई नियन्त्रणमा राखेर परिवारलाई ढाडस दिनुपर्ने हुन्छ।
“हामीले हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौँ, धैर्य गर्नुस् भनेर सम्झा उँदा परिवारको अनुहारमा आशा देखिन्छ,” उनी भन्छिन्, “त्यो आशाले हामीलाई पनि काम गर्ने ऊर्जा दिन्छ।”
सीमित जनशक्ति, ठूलो बिरामीको चाप
लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्यधिक हुने गरेको उनी बताउँछिन्।
वार्डमा ह्यान्डओभर र टेकओभर, गम्भीर बिरामीको अवस्था बुझ्ने, चिकित्सक सँग परामर्श गर्ने, उपकरण व्यवस्थापन, शल्यक्रियापछिको हेरचाह, औषधि व्यवस्थापन तथा कनिष्ठ नर्सिङ कर्मचारीको सुपरिवेक्षण उनको दैनिक कामको हिस्सा हो।
तर सीमित जनशक्तिले धेरै बिरामीलाई सेवा दिनुपर्ने अवस्था नर्सिङ सेवाको ठूलो चुनौती भएको उनको भनाइ छ।
“लामो समय उभिएर काम गर्नुपर्छ। रात्री ड्युटी हुन्छ। कतिपय अवस्थामा लगातार लामो समय काम गर्नुपर्छ,” उनी भन्छिन्, “बिरामीको जीवनसँग प्रत्यक्ष जोडिएको जिम्मेवारी भएकाले मानसिक रूपमा पनि सधैं सतर्क रहनुपर्छ।”
बिरामी र कुरुवाको आक्रोश व्यवस्थापन गर्नु पनि चुनौतीपूर्ण हुने उनी बताउँछिन्। बिरामी स्वयं पीडामा हुन्छन्, परिवार तनावमा हुन्छ। त्यसैले नर्सले उपचारसँगै व्यवहार व्यवस्थापन पनि गर्नुपर्ने हुन्छ।
‘नर्सिङलाई सम्मान र पर्याप्त जनशक्ति चाहिन्छ’
झन्डै तीन दशकको अनुभवले सीतालाई नर्सिङ सेवा सुधारका केही आधारभूत आवश्यकता स्पष्ट देखाएको छ।अस्पतालमा पर्याप्त नर्सिङ जनशक्ति हुनुपर्ने उनको धारणा छ।
कामको प्रकृतिअनुसार उचित पारिश्रमिक, जोखिम भत्ता, वैज्ञानिक शिफ्ट प्रणाली र काम गर्ने वातावरण आवश्यक रहेको उनी बताउँछिन्।

“सीमित जनशक्तिले धेरै बिरामीलाई सेवा दिँदा नर्समाथि कामको चाप बढ्छ,” उनी भन्छिन्, “पर्याप्त जनशक्ति भयो भने बिरामीलाई अझ गुणस्तरीय सेवा दिन सकिन्छ।”
नर्सिङ पेसालाई प्रशासनिक र संस्थागत रूपमा पनि समान सम्मान र अवसर दिनुपर्ने उनको जोड छ।
परिवारको साथ र सेवाको सन्तुष्टि
नर्सिङ पेसामा समयको निश्चितता हुँदैन। चाडपर्व, रातदिन वा पारिवारिक अवसर—बिरामीको सेवा प्राथमिकतामा पर्छ।
यस्तो जीवनशैलीसँगै पारिवारिक जिम्मेवारी सन्तुलनमा राख्नु सजिलो थिएन।
तर परिवारका सदस्यको सहयोग र समझदारीले आफूलाई निरन्तर अघि बढ्न सहयोग गरेको उनी बताउँछिन्।“परिवारको साथ नभएको भए यति लामो समय निरन्तर काम गर्न कठिन हुन्थ्यो,” उनी भन्छिन्।
कहिलेकाहीँ अस्पतालको गम्भीरता घरसम्म आइपुग्छ। गम्भीर बिरामीका दृश्य र घटनाले मनमा प्रभाव पार्छन्। तर बिरामी स्वास्थ्यलाभ गरेर हाँस्दै घर फर्किएको देख्दा ती सबै थकान हराउने गरेको उनको अनुभव छ।
‘नर्सिङ मेरो जीवनको धर्म हो’
झन्डै तीन दशकको यात्रामा सीताले नर्सिङबाट धेरै कुरा पाइन्। सम्मान, पहिचान, माया र मानिसको जीवनलाई नजिकबाट बुझ्ने अवसर।तर उनले दिएको कुरा पनि कम छैन-आफ्नो समय, ऊर्जा, सीप र सेवाभाव।
“पछाडि फर्केर हेर्दा यो पेसाले मलाई समाजमा सम्मानित पहिचान, अपार माया र मानवीय सेवा गर्ने अवसर दिएको छ,” उनी भन्छिन्, “यसले मलाई धैर्यवान् र बलियो बनायो।”बदलामा उनले आफ्नो जीवनको ऊर्जावान् समय बिरामीको सेवामा समर्पित गरिन्।
उनी हजारौँ बिरामीको उपचार प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिइन्। कतिपयलाई मृत्युको मुखबाट फर्काउन सहयोग गरिन्। कतिपय नवजातको पहिलो सासको साक्षी बनिन्। कतिपय परिवारको आँसु पुछिन् र कतिपयलाई कठिन समयमा आशा दिइन्।
त्यसैले उनको लागि नर्सिङको अर्थ तलब, पद वा जागिरमा सीमित छैन।
“बिरामी निको भएर हाँस्दै घर फर्किएको देख्दा पाउने आत्मसन्तुष्टि नै मेरो सबैभन्दा ठूलो कमाइ हो,” उनी भन्छिन्।
अन्त्यमा उनी आफ्नो लामो सेवायात्रालाई एउटै वाक्यमा परिभाषित गर्छिन्-“मेरो लागि नर्सिङ केवल जागिर होइन, मेरो जीवनको धर्म हो।



प्रतिकया दिनुहोस्