स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका–३ का स्थानीय पछिल्लो समय बिहानै योग र जुम्बामा जुट्न थालेका छन्। स्वास्थ्यप्रति सचेत स्थानीयको स्वतःस्फूर्त सहभागितामा सार्वजनिक जग्गामा सञ्चालन भइरहेको यो अभ्यासमा नियमित रूपमा योग, ध्यान र जुम्बा गरिन्छ।
स्थानीयको यही पहलको प्रशंसा गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले एउटा स्वास्थ्य चौकी थपेर बिरामीको उपचार गर्नुभन्दा नागरिक बिरामी नै नपर्ने वातावरण निर्माण गर्नु स्थानीय सरकारको प्राथमिकता हुनुपर्ने बताए।
‘एउटा स्वास्थ्य चौकी बनाएर बिरामीको उपचार गर्नु मात्र हाम्रो काम होइन,’ योग तथा जुम्बा कार्यक्रममा बोल्दै खाँणले भने, ‘नागरिक बिरामी नै नहुने वातावरण बनाउनु हाम्रो प्रमुख कार्य हो। यहाँ नागरिक आफैं सक्रिय भएर स्वास्थ्यका लागि लाग्नुभएको छ, यो निकै सराहनीय छ।’
उनले स्वास्थ्यलाई मानिसको सबैभन्दा ठूलो सम्पत्तिका रूपमा व्याख्या गरे। धन–सम्पत्ति र गरगहनासँग स्वास्थ्यको तुलना हुन नसक्ने भन्दै उनले स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिन आग्रह गरे।
‘सडक, कल्भर्ट र भवन बन्दै जान्छन्। तर नागरिक स्वस्थ भएनन् भने भौतिक पूर्वाधारको मात्र के अर्थ?’ खाँणले भने, ‘बिरामी भएपछि अस्पताल जाने कि गरगहना हेरेर बस्ने? त्यसैले अहिलेबाटै स्वास्थ्यप्रति सचेत हुनुपर्छ।’
नगरपालिकाले भौतिक पूर्वाधार निर्माणसँगै स्वस्थ नागरिक निर्माणलाई पनि प्राथमिकतामा राखेको उनले बताए। सार्वजनिक जग्गाको संरक्षण र सदुपयोग गर्दै त्यस्ता स्थानमा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ थियो।
‘निजी जग्गा खोज्नुभन्दा सार्वजनिक जग्गाको पहिचान गरौं। नगरपालिकाले गर्नुपर्ने सहयोग गर्छ,’ खाँणले भने।
कार्यक्रममा तिलोत्तमा–३ का वडाध्यक्ष कल्याण पौडेलले स्थानीयको पहलमा सञ्चालन हुँदै आएको योग तथा जुम्बा कार्यक्रमलाई वडा कार्यालयले सहयोग गर्दै आएको बताए। आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।
स्थानीयवासीको स्वतःस्फूर्त सहभागितामा सञ्चालन हुँदै आएको कार्यक्रममा योग, ध्यान तथा जुम्बामार्फत शारीरिक र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिइएको छ। कार्यक्रममा नित्यानन्द ज्ञवाली, नवीन पन्थी, राजु पौडेललगायत स्थानीयको सहभागिता थियो।
योग शरीर, श्वासप्रश्वास र मनलाई सन्तुलित राख्न गरिने अभ्यास हो भने जुम्बा संगीतको तालमा गरिने नृत्य तथा शारीरिक व्यायामको मिश्रित अभ्यास हो। दुवैले नियमित शारीरिक सक्रियता र स्वस्थ जीवनशैली प्रवर्द्धनमा सहयोग पुर्याउँछन्।


प्रतिकया दिनुहोस्