विशेषज्ञ चिकित्सक दरबन्दीमा जाऊ, नभए विकल्प देऊ : स्वास्थ्यमन्त्री घिमिरे

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आफ्नो दरबन्दीमा नजाने विशेषज्ञ चिकित्सकविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ। स्वास्थ्य  मन्त्री रामजी प्रसाद घिमिरेले सरकारले तोकेको दरबन्दीमा तत्काल हाजिर हुन सम्बन्धित चिकित्सकलाई आग्रह गर्दै अटेर गरे राजीनामा माग्नेसम्मको अवस्था आउने बताएका छन्।

मन्त्री घिमिरेका अनुसार प्रदेश सरकारले जनताको सहज र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न चिकित्सक लाई दरबन्दी अनुसार कार्यस्थलमा खटाएको भए पनि केही ११औँ तहका विशेषज्ञ चिकित्सकहरू भने सरकारले तोकेको स्थानमा नगई आफूलाई सुविधा हुने अस्पताल वा कार्यालयमै बसिरहेको पाइएको छ।

यस्तो प्रवृत्तिले दुर्गम तथा आवश्यक सेवा रहेका अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव सिर्जना भएको उनले बताए।उनले भने, “पहिले किन आफ्नो दरबन्दीमा नगएको हो भन्ने विषयमा स्पष्टीकरण सोध्छौं। त्यसपछि पनि अटेर गरेर सरकारले तोकेको स्थानमा जान नमाने राजीनामा माग्नुबाहेक अर्को विकल्प रहँदैन।”

मन्त्री घिमिरेले कर्मचारीले व्यक्तिगत सुविधा वा रोजाइका आधारमा होइन, राज्यको आवश्यकता र कानुनी व्यवस्था अनुसार काम गर्नुपर्ने स्पष्ट पारे। उनले जनताको स्वास्थ्य अधिकारलाई केन्द्रमा राखेर सरकारले गरेको दरबन्दी व्यवस्थापनलाई कार्यान्वयन गरिने बताए।

यद्यपि सरकारले विशेष आवश्यकता, सेवा निरन्तरता वा सम्बन्धित चिकित्सक त्यो ठाउमा आबश्यक छ उहाँ बिना सेवा नै अबरुद्ध  हुने अवस्था देखिएमा त्यस्ता चिकित्सकलाई आवश्यक निर्णयका आधारमा राख्न सकिने उनले स्पष्ट पारे। यस्तो अवस्थामा भने उक्त व्यवस्था अपवादका रूपमा लागू हुने उनको भनाइ छ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशभरका विशेषज्ञ चिकित्सकको दरबन्दी र कार्यरत स्थानको विवरण संकलन गरी वास्तविक अवस्थाको समीक्षा गरेर अघि बढने बताए ।

सम्बन्धित शिर्षक :