स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने गरी गरेको निर्णयको स्वागत गर्नुभएको छ।
सोमबार एक सामाजिक सञ्जाल (फेसबुक) मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभापति थापाले सो व्यवस्था अनुपयुक्त रहेको कुरा आफूहरूले सुरुआतदेखि नै उठाउँदै आएको बताउनुभएको हो। “निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन्। धेरैका लागि त्यो कुनै विलासिता (लक्जरी) होइन, बाध्यता हो,” उहाँले भन्नुभएको छ।
निजी क्षेत्र पनि देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार रहेको उल्लेख गर्दै थापाले सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले कहिल्यै पनि समस्याको समाधान नगर्ने स्पष्ट पार्नुभएको छ। “समता शुल्क लागू गर्नु समानताको नीति थिएन, बरु असमानतालाई अझ बढावा दिने व्यवस्था थियो,” उहाँले भन्नुभएको छ।
सरकारले यही आर्थिक र सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था खारेज गरेको निर्णय सही रहेको बताउँदै उहाँले यस निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रियासमेत रीतपूर्वक पूरा गर्न आग्रह गर्नुभएको छ।
साथै, सरकारले बिजुलीमा लगाइएको अभिवृद्धि कर (भ्याट) जस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरूसमेत सच्याउँदै आमनागरिकको मर्म बुझ्न जोड दिनुभएको छ।


प्रतिकया दिनुहोस्