स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिका वडा नं। १ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। रुपन्देही मिडिया नेटवर्क प्रालिको आयोजना तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
आधारभूत स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिकी उपाध्यक्ष तथा वडा सदस्य गीता देवी न्यौपानेको अध्यक्षतामा कार्यवाहक वडा अध्यक्ष विष्णु प्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा टोल सञ्जालका अध्यक्ष टोपलाल भण्डारी, कुलापानी सिँचाइ समितिका अध्यक्ष दधिराम न्यौपाने, स्वास्थ्य स्वयंसेविकाहरू तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

सामाजिक परीक्षण कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्रकी प्रमुख जनस्वास्थ्य निरीक्षक उर्मिला शाहीले स्वास्थ्य संस्थाले प्रदान गर्दै आएका सेवा, सम्पन्न भएका कार्य तथा आगामी योजनाबारे जानकारी गराइन्।
उनले स्वास्थ्य केन्द्रको आफ्नै भवन नभएको उल्लेख गर्दै भवन निर्माण भएपछि थप सेवा–सुविधा विस्तार गर्न सहज हुने बताइन्। आवश्यक औषधि, उपकरण तथा अन्य सामग्री वडा कार्यालय र नगरपालिकाबाट प्राप्त भइरहेको जानकारी दिँदै वन क्षेत्रबाट समेत औषधि उपलब्ध गराइएको बताइन्।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले स्वास्थ्य संस्था अन्यत्र सार्ने चर्चा भइरहेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन्। उनीहरूले सबैलाई सहज पहुँच हुने स्थानमा रहेको स्वास्थ्य केन्द्रलाई यथास्थानमै राखी आवश्यक जग्गा व्यवस्थापन गरेर भवन निर्माण गर्न नगरपालिका र वडा कार्यालयसँग माग गरेका छन्।
स्थानीय टीका ढकाल न्यौपानेले ल्याब सेवा, आइरन चक्की, जीवनजल लगायतका सामग्री समयमै उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याइन्। उनले सुत्केरी भेट कार्यक्रम प्रभावकारी भए पनि चालु वर्ष सञ्चालन नभएको गुनासो गरिन्।
त्यस्तै मोतिलाल भण्डारी, टीका देवी पौडेल, हरिहर गौतम, भीमप्रसाद पाण्डे तथा टोपलाल भण्डारीले स्वास्थ्य केन्द्रको भवन निर्माण आवश्यक भए पनि संस्थालाई अन्यत्र सार्न नहुने धारणा राखे। उनीहरूले आवश्यक औषधि तथा पोषण सामग्री नियमित रूपमा उपलब्ध गराउन पनि आग्रह गरे।

ज्येष्ठ नागरिक टीकानिधि गौतमले जनप्रतिनिधिहरूलाई जनभावनाअनुसार निर्णय लिन आग्रह गरे।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले तत्काल स्वास्थ्य केन्द्र सार्ने कुनै योजना नरहेको स्पष्ट पार्दै औषधि आपूर्ति नियमित भइरहेको जानकारी दिए।
उनले आगामी आर्थिक वर्षदेखि सबै खोप केन्द्रलाई वातानुकूलित ९एसीयुक्त० बनाउने तयारी रहेको र तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए।
कार्यवाहक वडा अध्यक्ष विष्णु प्रसाद पाण्डेले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताउँदै औषधि तथा पोषण कार्यक्रमका लागि वडा कार्यालयबाट समेत बजेट विनियोजन गरिएको जानकारी दिए। उनले सबैलाई पायक पर्ने स्थानमै नयाँ भवन निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता गर्दै आधारभूत स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिकी उपाध्यक्ष गीता देवी न्यौपानेले जनप्रतिनिधिहरूले स्थानीयवासीको भावना अनुसार काम गरिरहेको बताइन्।
उनले स्वास्थ्य संस्था र वडा कार्यालयबीच समन्वय तथा सहकार्यका माध्यमबाट सेवा प्रवाह भइरहेको उल्लेख गरिन्।
सामाजिक परीक्षण केवल औपचारिक कार्यक्रम मात्र होइन, यो नागरिक र सेवा प्रदायकबीचको संवादको प्रभावकारी माध्यम हो। यसले संस्थालाई सुधार गर्न, सेवाको गुणस्तर बढाउन र जनताको विश्वास कायम राख्न महत्वपूर्ण योगदान पुर्याउँछ।
तिलोत्तमा–१ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भएको सामाजिक परीक्षणले पनि स्थानीयका आवश्यकता, सुझाव र अपेक्षालाई सम्बन्धित निकायसम्म पुर्याउने महत्वपूर्ण अवसर प्रदान गरेको बिज्ञहरुको भनाई छ ।





प्रतिकया दिनुहोस्