पाल्पा पूर्ण संस्थागत प्रसूति र पूर्ण खोप दिगोपना कायम गर्ने देशकै पहिलो जिल्ला

पाल्पा जिल्ला नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्ण खोप सुनिश्चितता दिगोपना कायम गर्ने जिल्ला बनेको छ। जिल्ला प्रजनन् स्वास्थ्य तथा खोप समन्वय समितिद्वारा आयोजित विशेष समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सो उपलब्धिको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पाल्पाले स्वास्थ्य क्षेत्रमा स्थापित गरेको यो उपलब्धि देशकै लागि अनुकरणीय भएको बताउनुभयो। उहाँले सुरक्षित मातृत्व र शिशु स्वास्थ्य सुधारका लागि पाल्पाको सफलता महत्वपूर्ण रहेको उल्लेख गर्दै सन् २०३० सम्म मातृ मृत्युदर र नवजात शिशु मृत्युदर घटाउने राष्ट्रिय लक्ष्य हासिल गर्न यो कोसेढुङ्गा सावित हुने धारणा राख्नुभयो। साथै प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको पनि उहाँले बताउनुभयो।

त्यसैगरी लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले नेपालको संविधानले सुनिश्चित गरेको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य अधिकारलाई पाल्पाले व्यवहारमै लागू गरेर उदाहरण प्रस्तुत गरेको बताउनुभयो। उहाँले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सामाजिक विकासमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले पाल्पामा १४ प्रकारका नियमित खोपका अतिरिक्त पाठेघरको क्यान्सर विरुद्ध एचपिभी खोप पनि सफल रूपमा सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले जिल्लामा खोपको कभरेज ९५ प्रतिशतभन्दा माथि पुर्‍याएर दिगोपना कायम गरिएको उल्लेख गर्दै प्रदेश सरकारले आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकासहित सबै ८१ वडा पूर्ण रूपमा प्रमाणिकरण भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार समन्वय र सहकार्यका कारण यो ऐतिहासिक सफलता सम्भव भएको हो।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले जिल्लामा संस्थागत प्रसूति सेवा शतप्रतिशत पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार २,१३९ गर्भवती महिलाले चार पटक गर्भजाँच गराएका छन् भने २,२६२ महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिएका छन्।

वि.सं. २०७० साल फागुन १३ गते नेपालमै पहिलो पटक पूर्ण खोप जिल्ला घोषणा भएको पाल्पाले यस वर्ष पुनः संस्थागत प्रसूति र खोप दिगोपनामा ऐतिहासिक सफलता हासिल गर्दै स्वास्थ्य क्षेत्रमा उदाहरणीय जिल्ला बनेको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :