गोकर्ण ज्ञवाली(प्रकास), बुटवल | रुपन्देहीको यशोदा फुड्स प्रा. लि. ले आफ्ना विक्रेता तथा उपभोक्तालाई लक्षित गर्दै सार्वजनिक सन्देश जारी गरेको छ। कम्पनीले आफ्ना उत्पादनहरूको गुणस्तर कायम राख्न सही भण्डारण र प्रयोगमा विशेष ध्यान दिन आग्रह गरेको हो।
कम्पनीले जारी गरेको सन्देशमा नेपाल तथा नेपालीको पहिचान बोकेको यशोदा फुड्सले हजारौं नेपालीलाई रोजगारी प्रदान गर्नुका साथै कृषि क्षेत्रमा योगदान पुर्याउँदै आएको उल्लेख गरिएको छ। साथै कम्पनीका उत्पादनहरू विश्वका २२ भन्दा बढी मुलुकमा निर्यात हुँदै आएको दाबी गरिएको छ।
यशोदा फुड्सले गर्मीयाममा अत्यधिक तापक्रम बढ्ने तथा पसल वा गोदाममा मालसामान चर्को घाममा राखिँदा उत्पादनको गुणस्तरमा असर पर्न सक्ने जनाएको छ। त्यसैले विक्रेताहरूलाई उत्पादनहरू घाम तथा पानी नपर्ने स्थानमा सुरक्षित रूपमा भण्डारण गरी बिक्री वितरण गर्न अनुरोध गरिएको छ।
त्यस्तै, उपभोक्तालाई पनि उत्पादन प्रयोग गर्नु अघि उत्पादन मिति र म्याद सकिने मिति अनिवार्य रूपमा जाँच गरेर मात्रै उपभोग गर्न आग्रह गरिएको छ।
हालै करेन्ट र लाली चाउचाउको गुणस्तर सम्बन्धी विषय सार्वजनिक भइरहेका बेला कम्पनीले यस्तो जनहित सन्देश जारी गरेको हो।


प्रतिकया दिनुहोस्