श्रृङ्गेश्वर धाममा ज्येष्ठ नागरिकको सक्रिय फुतिलो र अर्थपूर्ण जीवन यात्रा

तिलोत्तमा–४ मा अवस्थित श्रृङ्गेश्वर धामको परिसरमा पुग्दा एउटा फरक संसार भेटिन्छ—जहाँ उमेर ढल्किँदै गए पनि जीवनप्रतिको आशा, ऊर्जा र जिज्ञासा झन् प्रखर हुँदै गएको छ। यहाँका ज्येष्ठ नागरिकहरूका अनुहारमा देखिने सन्तोष र शान्ति, केवल समय बिताउने थलो नभई आत्मिक पुनर्जागरणको केन्द्र बनेको संकेत हो।

यो ज्येष्ठ नागरिक मिलन केन्द्रमा तुल्सीराम पौडेल ९२ वर्षका हुनुहुन्छ। उहाँसँगै ९४ वर्षका यदुनाथ ज्ञवालीजस्ता ज्येष्ठ सदस्यहरू सक्रिय रूपमा केन्द्रका गतिविधिमा सहभागी रहन ुभएको छ । उमेरको हिसाबले शरीर थाकेको हुन सक्छ, तर यहाँको वातावरणले उहाँहरूलाई मानसिक रूपमा ताजा र उत्साहित बनाइरहेको छ।

के सिकाइन्छ त यहाँ? सामान्य रूपमा हेर्दा यो धार्मिक कार्यक्रम जस्तो लाग्न सक्छ, तर यसको गहिराइ निकै फराकिलो छ। यहाँ धर्म, कर्म, वेद–पुराणका सैद्धान्तिक ज्ञान मात्रै होइन, त्यसको ‘प्राटिकल’ अभ्यास समेत गराइन्छ।

“जीवन के हो? के लिएर जान्छौं र के छोडेर जान्छौं?”जस्ता गम्भीर प्रश्नमाथि छलफल हुन्छ। ‘सत्कर्म के हो?’ भन्ने बुझाइ दिन खोजिन्छ। जीवनको अन्तिम चरणमा पुगेका व्यक्तिहरूलाई जीवनको सार बुझाउने प्रयास यहाँ निरन्तर भइरहेको छ।

पौडेल भन्नुहुन्छ,“यहाँ आउने हामी बुबाआमाले आफ्नो पालोमा कार्यक्रम सञ्चालन गदछौ हप्तामा एकपटक आफ्नो पालो आउँदा योग, ध्यान, रामायणजस्ता ग्रन्थ पढेर त्यसको अर्थ बुझाउने गरिन्छ।” यसरी पालैपालो नेतृत्व लिनुले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै सक्रियता कायम राख्न मद्दत गरेको छ।

यहाँ “मर्ने बुढो अनपढ” जस्ता शब्दकोे वास्तविक अर्थ पनि बुझाइन्छ। जीवन र मृत्युको यथार्थलाई स्वीकार गर्दै सकारात्मक ऊर्जा सिर्जना गर्ने प्रयास केन्द्रको मुख्य उद्देश्य हो। यही कारणले धेरै ज्येष्ठ नागरिकहरू यहाँ आएपछि आफूभित्र नयाँ ऊर्जा आएको अनुभव सुनाउँने गरेको पाईन्छ ।

केन्द्रले व्यवस्थापन पक्षलाई पनि निकै सहज बनाएको छ। बिहान १० बजे घरघरबाट गाडीले ज्येष्ठ नागरिकलाई केन्द्रमा ल्याउँछ दिउसो त्यही खाजा खुवाउछ खाजापनि पोसिलो र प्रोटीन युक्त खुवाउने गरेको संस्थाले जनाएको छ । फरक फरक दिन खाजा फरक बनाउने र खुवाउने ब्यबस्था छ । उहाँहरुलाई गाईड गर्ने १० जना महिला तथा पुरुष हुनुहुन्छ उहाँहरुले पनि निशुल्क सेवा गर्नु भएको बताईएको छ ।

विहान ल्याएको त्यहि केन्द्रको गाडीले बेलुका ५ बजे पुनः घरमै पु¥याइदिन्छ। यसले शारीरिक रूपमा कमजोर भएका बुबाआमालाई पनि सहज पहुँच प्रदान गरेको छ। त्यहाँ निशुल्क सेवा गर्दे आउनु भएकी पार्वति घिमिरे बेलवासेले भन्नु भयो सेव ागर्न गरेका छौ सेवा गर्दा आनन्द आएको छ यो अबसर पाउनु पनि राम्रो र उपलब्धी मुलक भएको बताउनु भयो ।

धार्मिक तथा आध्यात्मिक यात्रामा समेत केन्द्रले विशेष ध्यान दिएको छ। पाल्पा र लुम्बिनी क्षेत्रमा हुने विपश्यना ध्यान कार्यक्रममा एक हप्तासम्म सहभागी गराइन्छ। अहिलेसम्म करिब ६० जना ज्येष्ठ नागरिकले यस्तो अनुभव प्राप्त गरिसकेका छन्, जसले उनीहरूको जीवनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले वताउनु भयो ।

केन्द्र सञ्चालन दानदाता, जन्मदिन धार्मिक कार्य जस्ता अवसरमा हुने सहयोगबाट चलिरहेको छ। नयाँ श्रृगेश्वरधाम छ त्यसमा फर फरक कार्यक्रम सेवा का भवन निर्माण भएका छन । यस बर्ष पनि यसको भबनका लागि प्रदेश सरकारबाट २० लाख रुपैयाँ, तिलोत्तमा नगरपालिकाबाट ३० लाख रुपैयाँ सहयोग प्राप्त भइसकेको छ भने संघीय सरकारले छुट्याएको १० लाख रुपैयाँ अझै प्राप्त हुन बाँकी रहेको अध्यक्ष ले बताउनु भयो ।

संस्थागत रूपमा हेर्दा, केन्द्रमा ७ जना विशिष्ट सदस्य, ९४ जना संस्थापक सदस्य र ८१ जना आजीवन सदस्य छन्। साथै ११ वटा उपसमिति गठन गरिएको छ, जसले विभिन्न गतिविधिहरूलाई व्यवस्थित रूपमा सञ्चालन गरिरहेका छन्। हाल ११६ जना ज्येष्ठ नागरिक आबद्ध छन् भने १०० जनालाई सदस्यता रहनु भएको छ ।

केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले आगामी लक्ष्य अझै ठूलो रहेको बताउनुहुन्छ। “हामी पाँच सय ज्येष्ठ नागरिकलाई सेवा दिने लक्ष्यसहित पाँचतले अत्याधुनिक भवन निर्माण गर्न लागिरहेका छौं,” उहाँले भन्नुभयो। यस भवनमा सत्संग, भजन–कीर्तन, दैनिक पूजा–अर्चना, धार्मिक अनुष्ठानजस्ता गतिविधिहरू अझ व्यवस्थित रूपमा सञ्चालन गरिने योजना छ।

वि.सं. २०६० सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भएको गुल्मेली सम्पर्क समाजको गुरुयोजनाअनुसार यस धामको विकास भइरहेको हो। यसले केवल धार्मिक केन्द्रको रूपमा मात्र नभई सामाजिक परिवर्तनको माध्यमको रूपमा पनि काम गरिरहेको छ।
धामका संरक्षक डा. नारायणप्रसाद पन्थका अनुसार, यहाँ ज्येष्ठ नागरिक सेवा मात्र होइन, शिक्षाबाट वञ्चित छोरीहरूलाई निःशुल्क आवासीय शिक्षासमेत प्रदान गर्ने कार्यक्रम सञ्चालनमा छ। “यो ठाउँलाई सबैको आस्था र अपनत्वको केन्द्र बनाउने लक्ष्य छ,” उहाँले भन्नुभयो।

आजको व्यस्त र एक्लोपनले ग्रस्त समाजमा, जहाँ ज्येष्ठ नागरिकहरू प्रायः उपेक्षित हुन्छन्, यस्तो मिलन केन्द्रले उनीहरूलाई सम्मान, सहारा र जीवनप्रतिको नयाँ अर्थ दिइरहेको छ। यहाँ बिताएका केही घण्टाले उहाहरूको बाँकी जीवनलाई उज्यालो बनाइरहेको छ—सायद यही नै साँचो सेवा हो, साँचो धर्म हो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :