समानुपातिक तर्फको फर्म भर्ने अन्तिम दिनको एक घन्टा रहँदा फर्म भरेकी प्युठानकी खिमा वि.क. संघीय सांसद चुनिँदै आज संसदमा सपथ समेत ग्रहण गरेकी छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पाटि (रास्वपा) ले समानुपातिक तर्फबाट सांसद चयन गरेको हो । रास्वपाले खुल्ला आवेदन गरेसँगै भैरहवाको सिटी अस्पतालमा कार्यरत नर्स खिमाले निवेदन दिएकी थिईन् । उनी प्राईमेरि इलेक्सनमा ९ हजार ८ सय ३५ मत लिएर दलित कलस्टरबाट छनौट भएकी थिईन् ।
२७ बर्षिय खिमा यस अघि कुनैपनि राजनैतिक दलमा आबद्धता थिइनन् । अधिकारको क्षेत्रमा सामाजिक सञ्जालहरुमा आवज उठाइरहने उनले रास्वपाले खुलाएको समानुपातिक तर्फ उम्मेदवार बन्न आफै रुचि राखेर फर्म भरेकी हुन् ।
रास्वपाले खुलाएको समानुपातिक तर्फको उम्मेदवारको फर्म भर्नको लागि ५० हजार लाग्ने भएता पनि उनका श्रीमान र उनीसँग गरेर जम्मा २० हजार थियो । फर्म भर्ने समय जम्मा एक घन्टा मात्रै थियो तर पैसा थिएन । त्यसपछि सासु आमा सुमित्रा सुनारको पेन्सन खाताबाट बेलहिया गएर एटिएमबाट थप ३० हजार निकालेर ५० हजार पुराई फर्म भरेकी उनी निर्वाचनको समयमा दलित कलस्टरबाट समानुपातिक सूचिमा समाबेश भएकी थिईन् ।
दाङको दङ्गीशरणमा जन्म भई तुलसीपुरमा हुुर्केबढेकी खिमाले तुलसीपुर स्थित अरनिको माविमा अध्ययन गरेकी थिईन् । उनले नेपालगन्जबाट नर्सिङ पास गरेपछि भैरहवा स्थित सिटी अस्पतालमा जागिर सुुरु गरेकी थिईन् । जागिर गर्दा गर्दै समानुपातिक तर्फको फर्म भरेर सांसद चुनिएकी खिमाले अस्पतालमा विदा लिएर गएपछि सांसद भएको खबरले सिंगो अस्पताल परिवार हर्षित भएको सिटी अस्पताल भैरहवाको एमडी अर्जुन पौडेलले बताए ।
पौडेलले भने, ‘ हामी कहाँ नर्सिङ स्टाफको रुपमा काम गर्ने खिमा जि उमेर सानो भएता पनि हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने क्षमतावान हुुुनुुहुुन्थ्यो । अहिले जनताको प्रतिनिधिको रुपमा सदनमा पुगेको खबरले हामी खुसी छौँ । उहाँले स्वास्थय क्षेत्रमा राम्रो नीति बनाउन पहल गर्ने अपेक्षा समेत गरेका छौ । ’
खिमाको बुबा घनश्याम वि.क प्रहरीको सेवा निवृत्त हवल्दार हुन् भने श्रीमान पवन सुनार पनि प्रहरीको असईको रुपमा कार्यरत रहेका छन् । माइतीमा छँदा जेठो सन्तानको जिम्मेवारी सम्हालेकी उनी यतिबेला देशको जिम्मेवारी सम्हाल्ने गरी संसदीय यात्रा तय गरेकी छन् ।
खीमाको ससुरा बुबा तिलबिर सिंह सुनार भारतको विजुली बोर्डमा जागिरे थिए । एक बर्ष अगाडी प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ बाटुले भिङ्ग्रीका पवनसँग प्रेम विवाह गरेकी खिमाले प्रवासमा ससुरा बुबाले गरेको संघर्षको कमाइलाई समानुपातिक तर्फको फर्म भर्ने कार्यमा प्रयोग गरेर संसद छिरेकी हुन् ।
सांसदको सपथ ग्रहण गरेपछि खिमाले भनिन, ‘भदौ २२ गते सम्म बाहिर जान भनेर तयारी गर्दै थिए । एक्कासी जेनजि विद्रोह भएपछि म पनि जोडिए । खासमा भन्नुपर्दा भदौ २३ गतेको घटनापछि जानि नजानि राजनीतिमा जोडिए । ’उनले विगतमा पनि नर्सिङ विद्रोहमा सहभागि भएको तर एक बर्ष सम्म पनि सुुनुवाई नभएको गुनासो गर्दै सडकबाट कराउँदा र सदनबाट बोल्दा पक्कै पनि फरक पर्ने बताईन् ।
सदनमा नर्सिङ पेशालाई मर्यादित बनाउन र गाउँगाउँमा नर्सिङ सेवाको विस्तारको लागि पहल गर्ने उनको चाहना छ । उनले भनिन, ‘नर्सिङ एउटा ब्यक्ति होइन, ब्यवसाय हो । यसलाई ब्यवस्थित गर्न सबै जाग्नुपर्छ भन्ने लागिरहेको थियो । अब सदनबाट सोहि विषयमा नीति बनाउन भूमिका खेल्छु ।’नेपाल बल्डवाट साभार

प्रतिकया दिनुहोस्