स्वास्थ्यसमाचार/ नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई आफू कार्यरत नभएका स्वास्थ्य संस्थाबाट आफ्नो नाम, दर्ता नम्बर तथा प्रमाणपत्र तुरुन्त हटाउन निर्देशन दिएको छ।
मंगलबार प्रकाशित सूचनामा काउन्सिलले चिकित्सकहरूले आफ्नो एनएमसी रजिस्ट्रेसन सर्टिफिकेट केवल आफू प्रत्यक्ष रूपमा कार्यरत स्वास्थ्य संस्था वा क्लिनिकमा मात्र प्रयोग गर्नुपर्ने स्पष्ट पारेको छ।
आफू संलग्न नरहेका अस्पताल वा क्लिनिकमा नाम तथा प्रमाणपत्र राख्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने र यसले व्यावसायिक आचारसंहिताको उल्लंघन हुन सक्ने काउन्सिलको ठहर छ।
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले कतिपय अवस्थामा चिकित्सकहरूको नाम र दर्ता नम्बर उनीहरू कार्यरत नभएका संस्थाहरूमा समेत प्रयोग भइरहेको उल्लेख गर्दै जसले बिरामीहरूलाई गलत सन्देश दिनुका साथै गम्भीर भ्रम उत्पन्न गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार यस्तो अभ्यासले भविष्यमा कानुनी तथा प्रशासनिक जटिलता निम्त्याउन सक्ने भएकाले सबै चिकित्सकहरूलाई आफ्नो विवरणको सही प्रयोगमा विशेष सजग रहन आग्रह गरिएको छ।
“चिकित्सकहरूले आफ्नो नाम, प्रमाणपत्र तथा दर्ता नम्बरको दुरुपयोग हुन नदिन आफू कार्यरत नरहेका पुराना संस्थाबाट ती विवरणहरू तुरुन्त हटाउनुपर्छ,” रजिष्ट्रार देवले भन्नुभयो, “साथै साइनबोर्ड, विज्ञापन तथा दर्ता अभिलेखहरूमा आफ्नो विवरण सही रूपमा प्रयोग भइरहेको छ वा छैन भन्ने विषयमा नियमित अनुगमन गर्नु पनि उत्तिकै आवश्यक छ।”
काउन्सिलले चिकित्सकहरूलाई व्यावसायिक नैतिकता र जिम्मेवारीलाई प्राथमिकतामा राख्दै पारदर्शी र विश्वसनीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सहयोग गर्न समेत अनुरोध गरेको छ

प्रतिकया दिनुहोस्