पाल्पामा नसर्ने रोग स्क्रिनिङ तीव्र, २२ हजार नागरिकको परीक्षण लक्ष्य

स्वास्थ्यसमाचार/पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ (पहिचान) अभियान सञ्चालन भएको छ । स्वास्थ्य कार्यलय पाल्पाले अभियानलाई तीव्र रुपमा सञ्चालन भैरहेको जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारको उपचार सेवा सुधारसँगै निरोधात्मक विधिको प्रवद्र्धन गर्ने योजना अनुसार नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि स्क्रिनिङ अभियान चलाइएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताउनुभयो । उहाँले सञ्चालन भएको अभियानबाट जिल्लाका ३० वर्षदेखि ८० वर्षसम्मका करिब २२ हजार नागरिकको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

अभियानको अबधिमा मधुमेह परीक्षण, रक्तचाप मापन, मिर्गौला सम्बन्धी रोगको जाँच, उचाइ र तौलको अनुपात पहिचान निःशुल्क रुपमा गर्नुका साथै स्वास्थ्य परामर्श सेवा सेमेत दिइएको निमित्त प्रमुख पोखरेलले बताउनुभयो । विगतको तुलनामा पछिल्लो समय अभियानको उपलब्धि सकारात्मक रहेकोले पाल्पाको स्वास्थ्य सेवाको अवस्था सुधार देखिएको उहाँको भनाइ छ ।

पछिल्लो समय नसर्ने प्रकृतिका मिर्गौलामा समस्या, उच्च रक्तचाप, मधुमेहलगायत रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा देखा परेको भेटिएको पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताउनुभयो । उहाँले अस्वस्थ्य जीवनशैली, शारीरिक निष्क्रियतालगायत कारणले नसर्ने रोग बढ्दो क्रममा रहेको बताउनुभयो । नसर्ने रोगको पहिचान र सचेतनामा सरकारको लगानी बढ्दो रहेकोले आमनागरिकलाई रोगबाट जोगिन र समयमै रोकथाम गर्न अभियानहरु सहयोगी भएको संयोजक ढकालकोे भनाइ छ ।

अस्वस्थ जीवनशैली, चेतनाको कमी र नियमित परीक्षणको अभावका कारण जटिल अवस्थामा मात्र उपचारमा पुग्नुपर्ने अवस्था अन्त्यका लागि अभियानले महत्वपूर्ण भूमिका खेलेको बगनासकाली गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक नोदप्रसाद बस्यालले बताउनुभयो । उहाँले स्वास्थ्य परीक्षणसहित परामर्श पनि दिने भएकोले समय समयमा स्वास्थ्य परीक्षण, सन्तुलित आहार, नियमित व्यायामका विषयमा सचेत बनाउने काम समेत गरिएको बताउनुभयो ।

घर नजिकैबाट मधुमेह, उच्च रक्तचाप, मृगौला रोगको परीक्षण जस्ता सेवा पाउँदा खुसी लागेको बगनासकाली १ का प्रकाश हितंगा र पूर्णमान श्रेष्ठले बताउनुभयो । उहाँहरुले बिसन्चो नहुँदासम्म स्वास्थ्य परीक्षण नगराउने हाम्रो बानीले जटिल अवस्थामा मात्र रोग पत्ता लाग्दा उपचारमा समस्या हुने अवस्थाको अन्त्य गर्न स्थानीय सरकारले गरेको गाउँमै नागरिकको स्वास्थ्य परीक्षण अभियानले स्वास्थ्य अवस्था थाहा पाउने र सचेत हुने वातावरण निर्माण भएको बताउनुभयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :