लुम्बिनी प्रदेश फार्मेसी संघको दुई दिने पूर्ण बैठक घोराहीमा सम्पन्न

“जहाँ औषधि, त्यहाँ फार्मासिस्ट” नारासहित भविष्यको रणनीतिक योजना सार्वजनिक

स्वास्थ्यसमाचार/ दाङको घोराहीमा नेपाल फार्मेसी संघ, लुम्बिनी प्रदेशको दुई दिने पूर्ण बैठक  सम्पन्न भएको छ। संघका प्रदेश अध्यक्ष खेमराज तिवारीको अध्यक्षतामा तथा संघका केन्द्रीय सचिव ध्रुब कुमार शर्माको प्रमुख आतिथ्यतामा बैठक सञ्चालन गरिएको थियो।

कार्यक्रममा प्रदेशका पाँच जिल्लाका जिल्ला अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सचिव शर्माले सन् २०१९ मा संघले सुरु गरेको “नेपालमा सुरक्षित औषधि” अभियानमार्फत देशभर पाँच लाखभन्दा बढी जनतालाई औषधि सम्बन्धी सचेतना फैलाउन सफल भएको गराउनु भयो।  उहाँले उक्त अभियानको प्रभावका कारण बजारमा रहेको नक्कली औषधिको मात्रा ३० प्रतिशतले कमी आएको तथ्यांक गर्नु भयो।

उहाँले फार्मेसी क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (AI) र डेटा एनालिटिक्सको प्रयोगलाई आगामी रणनीतिक योजनाको अभिन्न अंग बनाउने प्रतिबद्धता जनाउनुभयो। यसले औषधि व्यवस्थापनदेखि सेवाग्राहीको उपचार प्रक्रियामा समेत पारदर्शिता र दक्षता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नु भयो।

कार्यक्रमको सुरुवातमा प्रदेश उपाध्यक्ष शुभेच्छा गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुभेन्द्र प्रसाद यादवले पूर्ण बैठकको उद्देश्य र कार्ययोजना प्रस्तुत गर्नुभयो।

“जहाँ औषधि, त्यहाँ फार्मासिस्ट” भन्ने नारालाई आत्मसात गर्दै संघले करारमा रहेका फार्मासिस्टहरूको तथ्यांक व्यवस्थित रूपमा कार्यान्वयन गर्ने योजना पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रमको समापन प्रदेश उपाध्यक्ष तथा सह–संयोजक सुलभ अधिकारीले दाङ जिल्ला समिति लगायत सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै गर्नुभएको थियो।

संघका अध्यक्ष तिवारीले देशका प्रत्येक नागरिकले गुणस्तरीय र सहज औषधि सेवा पाउन सक्ने वातावरण निर्माण गर्नु संघको प्रमुख लक्ष्य रहेको बताउँदै सरकारसँग प्रभावकारी सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो। कार्यक्रमको सञ्चालन प्रदेश महासचिव उदय बहादुर खत्रीले गर्नुभएको थियो।

सम्बन्धित शिर्षक :