लगातार ३ वर्ष प्रदेश–पहिलो: यसरी हामीले बनायौँ पाल्पालाई उत्कृष्ट

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले तय गरेका २८ वटा सूचकका आधारमा गरिएको मूल्याङ्कनमा पाल्पा जिल्ला लगातार तीन आर्थिक वर्ष—२०७९/८०, २०८०/८१ र २०८१/ ८२—मा समेत प्रथम हुन सफल भएको छ।

स्वास्थ्य कार्यालय पाल्पाले ‘समन्वय, सहकार्य र गुणस्तर’लाई मूल मन्त्र बनाउँदै अघि बढेको व्यवस्थापन शैली नै यसको प्रमुख कारण मानिन्छ।
स्वास्थ्य कार्यालयका अनुसार अहिलेको स्वास्थ्य प्रणालीमा कार्यालयको प्रमुख भूमिका समन्वय, प्राविधिक सहयोग, तालिम तथा अनुगमनमा केन्द्रित छ।

कार्यक्रम सञ्चालनमा पाल्पाका १० वटै स्थानीय तहसँग अघि नै बसेर साझा योजना, लक्ष्य र कार्ययोजना बनाइने भएकाले लक्ष्य अनुसार प्रगति हासिल गर्न सजिलो भएको स्वास्थ्य कार्यलय पाल्पाका प्रमुख टुकराज पोखरेले वताउनु भयो।

साझा योजना र नियमित समिक्षा
प्रत्येक कार्यक्रममा स्थानीय तहसँग मिलेर लक्ष्य निर्धारण, समयमै कार्ययोजना बनाउने र त्यसको प्रगतिमा संयुक्त समिक्षा गर्ने परिपाटी पाल्पामा मजबुत छ। यसले स्थानीय तह र स्वास्थ्य कार्यालय दुवैलाई परिणाममुखी बनाएको पोखरेलको भनाई छ।

गुणस्तरीय तालिम र अनसाइट कोचिङ
स्वास्थ्य कार्यालयले गर्ने तालिममा दक्ष र अनुभवी सहजकर्ता परिचालन गरिन्छ भने स्थानीय तहले सञ्चालन गर्ने तालिममा कार्यालयबाट सहजकर्ता पठाइन्छ।यसले स्वास्थ्यकर्मीलाई समयमै, व्यवस्थित र गुणस्तरीय सेवा दिन उत्प्रेरित गरेको छ, जसको प्रत्यक्ष प्रभाव वार्षिक प्रगतिमा प्रतिबिम्बित हुन्छ।

समयमै रिपोर्टिङ र फिडब्याक प्रणाली
सबै स्वास्थ्य संस्थालाई नियमित तथा समयमै रिपोर्टिङ गराउने, प्राप्त तथ्याङ्कमा तत्काल फिडब्याक दिने प्रणाली प्रभावकारी छ। रिपोर्टिङ समयमै र गुणस्तरीय भएपछि कुनै पनि संस्थाको प्रगति छुट्दैन, जसले समग्र नतिजा सुधारिएको कार्यालयको दाबी छ।

राजनीतिक दल, जनप्रतिनिधि, मिडिया र सरोकारवालासँग उत्कृष्ट समन्वय
पाल्पामा स्वास्थ्य अभियानहरु सफल हुनुको अर्को कारण राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार र समुदायसँग सुदृढ सम्बन्ध हो।
यही समन्वय मार्फत—होम डेलिभरी शून्य अभियान,बालविवाह रोकथाम,२० वर्ष मुनिका गर्भवती दरमा कमी,मातृमृत्यु कमी जस्ता अभियान प्रभावकारी रूपमा अघि बढेका छन्।

सुशासन, पारदर्शिता र प्रतिष्पर्धा खर्चमा पारदर्शिता, बेरुजु फस्र्योट, भौतिक–आर्थिक प्रगति वृद्धि र कार्यालयमा सुशासनलाई प्राथमिकता दिइएको छ।पालिकाबीच मूल्याङ्कन तथा प्रतिष्पर्धाको संस्कृति विकास भएकाले सबै स्थानीय तह सेवा–कार्यक्रममा सक्रिय रूपमा अघि बढ्ने गरेका छन्।

कर्मचारीबीच समन्वय र सकारात्मक वातावरण
कार्यालयका कर्मचारीबीच सुमधुर सम्बन्ध र सामूहिक कार्यशैलीले कार्यक्रम समयमै, गुणस्तरीय रूपमा सम्पन्न भएको छ। यही सकारात्मक कार्यले पाल्पालाई तीन वर्षसम्म लगातार प्रदेशमै प्रथम बन्न मद्दत गरेको प्रमख पोखरेलले बताउनु भयो ।

सम्बन्धित शिर्षक :