स्वास्थ्यसमाचार/तानसेनको भुसालडाँडास्थित युनाईटेड मिसन अस्पतालले अत्याधुनिक १६० स्लाइस सिटिस्क्यान सेवा सुरु गर्न लागेको छ। हालै अस्पतालले कार्डियाक सेवा सहितको सिटिस्क्यान मेसिन खरीद गरी जडान गरेको हो।
अस्पतालकी निर्देशक डा. रचेल कारखका अनुसार, आगामी दुई साताभित्र बिरामीहरुका लागि सेवा सुरु हुने छ। ‘सम्भवत: आउँदो शुक्रबार हामीले सिटिस्क्यान मेसिनको उद्घाटन गर्नेछौँ। त्यसपछिको एक हप्ता प्राविधिक काम र तालिमका लागि समय लाग्ने छ। त्यसपछि सेवा प्रदान गर्नेछौँ,’ उनले भनिन्।
डा. कारखले बताइन् कि मुटुका बिरामीहरुलाई अहिले क्याथल्याब सुविधा नभएको भए पनि, यो सिटिस्क्यान मेसिनले मुटुजन्य समस्या पहिचान गर्न मद्दत गर्नेछ। समस्या पहिचान भएमा नजिकैको बुटवल मुटु अस्पताल वा अन्य अस्पतालमा बिरामीलाई रिफर गर्न सकिनेछ।
युनाइटेड मिसन टू नेपालद्धारा सञ्चालित यस अस्पताल पश्चिम नेपालको पुरानो र प्रसिद्ध अस्पताल हो। पछिल्ला समय उपकरणको अभावका कारण उपचारमा असुविधा देखिन्थ्यो भने, सिटिस्क्यान मेसिन सञ्चालनमा आएपछि सेवाग्राहीले यो समस्या हट्ने अपेक्षा गरेका छन्।
दुई सय शैय्याको यस अस्पतालमा ४० भन्दा बढी चिकित्सक कार्यरत छन्। अर्थोपेडिक, गाइने अव्स, पेडियाट्रिक, जनरल फिजिसियन, जनरल प्राक्टिसनर लगायतका विभिन्न विशेषज्ञ चिकित्सकहरु यहाँ कार्यरत छन्।

प्रतिकया दिनुहोस्