गुल्मीमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्यसमाचार/गुल्मी जिल्लामा रहेका १६ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन सुरु गरिएको छ।

नेपाल सरकारले राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत देशभर दुई दिनसम्म बालबालिकाका लागि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी खुवाउने अभियान सञ्चालन गरेको हो ।

दुई दिनसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत छ महिनादेखि पाँच वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताउनुभयो।

दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय रहेको यस जिल्लामा १६ हजार ६ सय ९९ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषण जोखिम न्युनीकरण गर्न सरकारले २०५० देखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनसँगै २०५६ देखि जुकाको औषधी खुवाउन थालेको हो। नेपाल सरकारले हरेक आर्थिक वर्षको कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने अभियान संचालन गर्दछ।

स्वास्थ्य कार्यालय गुल्मीले दिएको जानकारी अनुसार रेसुङ्गा नगरपालिकाका दुई हजार २ सय २ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको छ।मुसिकोट नगरपालिकाका एक हजार ९ सय २४,कालीगण्डकी गाउँपालिकाका ९ सय ९३ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको छ।

यसैगरी मालिका गाउँपालिकामा एक हजार ३ सय ८२, मदाने गाउँपालिकामा एक हजार ३ सय ७३,छत्रकोट गाउँपालिकामा एक हजार ३ सय २२, गुल्मीदरबार गाउँपालिकामा एक हजार ३ सय ८,सत्यवती गाउँपालिकामा एक हजार २ सय ९३, इस्मा गाउँपालिकामा एक हजार २ सय ६० बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

धुर्कोट गाउँपालिकामा एक हजार २ सय ५७, चन्द्रकोट गाउँपालिकामा एक हजार २ सय ५५ र रुरुक्षेत्र गाउँपालिकामा एक हजार १ सय ३० बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको जनस्वास्थ्य अधिकृत आचार्यले बताउनुभयो।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले यस अभियानमा लक्षित गरिएका कुनै पनि बालबालिकालाई छुटाउन नहुने भन्दै यसको महत्त्वको बारेमा प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रममा सकेसम्म आफ्ना बालबालिकालाई बञ्चित नगर्न र १६ महिनासम्म लगाउनुपर्ने नियमित खोप कुनै कारणले छुटेको भए पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन पनि आग्रह गर्नुभयो ।

शनिबारदेखि सुरु भएको अभियान सफल बनाउन जिल्लाका ९३ वडामा ९ सय ९७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अभिमुखीकरण तालिमपछि परिचालन गरिएको र उहाँहरुले तोकिएका स्थानबाट भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने जानकारी कार्यालयले दिएको छ।

कुनै कारणले कोहि छुटेको खण्डमा स्वयंसेविकाहरूले आइतबार लक्षित बालबालिकाहरूको घरमा पुगेर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने जनस्वास्थ्य अधिकृत आचार्यले बताउनुभयो ।

फोटो:मझेरिया राप्ती, देउखुरी दाङमा लुम्बिनी प्रदेशका माननीय स्वास्थ्यमन्त्री खेम बहादुर सारुले राष्ट्रीय पोषण कार्यक्रम अन्तर्गत भिटामिन  तथा जुकाको औषधी खुवाउने कार्यक्रमको सुभारम्भ गर्दे।

सम्बन्धित शिर्षक :