स्वास्थ्यसमाचार/गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको पुर्तिघाटमा संचालन गरिएको तिन दिने निःशुल्क आँखा शिविरबाट एक हजार २ सय जनाले सेवा लिएका छन्।
सोमबारदेखि वुधवार सम्म जिल्लाको कालिगण्डकी गाउँपालिकाको पुर्तिघाटमा संचालन भएको निशुल्क आँखा शिविरबाट कालिगण्डकी तथा छिमेकी गाउँपालिका र छिमेकी जिल्ला पर्वतका नागरिकले समेत सेवा लिएको गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो।
मंसिर ३ र ४ गते दुई दिन संचालन गर्ने भनिएको आँखा शिविर सेवाग्राहीको भीड बढी भएपछि एक दिन थप गरि ३ दिन संचालन गरिएको समेत अध्यक्ष थापाले बताउनुभयो।
कालिगण्डकी गाउँपालिका र अल फर चेरेटी अस्ट्रेलिया मार्फत मोडल आइ केयर सेन्टर ललितपुरको आर्थिक सहयोग र बि.पि.नेत्र प्रतिष्ठानको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले बताउनुभयो।
उक्त शिविरमा १ हजार एक सय ८० जनाको आँखाको चेकजाँच(स्क्रिनिङ) सँगै प्राथामिक उपचार,१ सय ३९ जनाको शल्यक्रिया र ३ सय ४० जनालाई चश्मा वितरण गरिएको जानकारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्र थापाले दिनुभयो।
तिन दिनसम्म संचालन गरिएको शिविरमा प्राविधिक सहयोग पुराउने बि.पि.नेत्र प्रतिष्ठान र प्रतिष्ठानका प्रमुख डाक्टर अर्जुन श्रेष्ठ एवं सम्पूर्ण टिम,आर्थिक सहयोग गर्ने अल फर चेरेटी अस्ट्रेलिया मार्फत मोडल आइ केयर सेन्टर ललितपुरका अध्यक्ष डाक्टर खेम गुरुङ र संस्था परिवार,समाजसेवी गणेश श्रेष्ठ र शिविरमा प्रत्यक्ष,अप्रत्यक्ष सहयोग गर्ने पुर्तीघाट आमा समुहका सदस्यहरु,नेपाल रेडक्रस सोसाइटीका स्वयमसेवक तथा कर्मचारी,युवा क्लवका सदस्यहरु,महिला स्वास्थ्य स्वयंसेविका लगायत सम्पूर्ण लाइ गाउँपालिकाको तर्फबाट अध्यक्ष वेदबहादुर थापा,उपाध्यक्ष मन्जु कुमारी दर्लामी र प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले धन्यवाद सहित मायाको चिनो प्रदान गर्नुभएको थियो ।
प्रतिकया दिनुहोस्