११ पालिकालाई पछि पार्दै रुरुक्षेत्र बन्यो स्वाथ्य सुचकांकमा प्रथम

स्वास्थ्यसमाचार/स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगतिको आधारमा तोकिएका मुख्य सूचकहरुको मूल्याङ्कनबाट गुल्मीका दुई नगरपालिका र दश गाउँपालिकामध्ये रुरुक्षेत्र गाउँपालिका ७१ दशमलव ८२ नम्बर प्राप्त गरि जिल्लामा प्रथम भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले आयोजना गरेको आर्थिक वर्ष २०८०/२०८१ को जिल्ला स्तरीय समीक्षा बैठकमा एक वर्षको अवधिमा तोकिएका स्वास्थ्य कार्यक्रमहरु समुदायमा प्रभावकारी रुपमा सम्पन्न गरि तोकिएका मुख्य सूचकहरू पुरा गरेकोले रुरुक्षेत्र गाउँपालिकालाइ प्रथम घोषणा गरिएको हो।

आर्थिक वर्ष २०८०/२०८१ अवधिमा स्वास्थ्य क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका पहिलो,सत्यवती गाउँपालिका ७१ दशमलव १९ अंक प्राप्त गरि दोस्रो र छत्रकोट गाउँपालिका ७० दशमलव ४९ अंक प्राप्त गरि तेस्रो बनेको भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुष्पा थापाले बताउनुभयो।

स्वास्थ्य कार्यालय गुल्मीको आयोजना तथा रेसुङ्गा नगरपालिकाको आतिथ्यतामा आर्थिक वर्ष २०८०/२०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट भएका तीन पालिका घोषणा गरि सम्मान गरिएको थियो।

यसैगरी कार्यालय,पालिका,स्वास्थ्य संस्था र सरकारी तथा गैरसरकारी संस्थासंग समन्वय र सहकार्यलाइ अघि बढाएर कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेवापत कार्यालयले उत्कृष्ट कर्मचारीको रुपमा जनस्वास्थ्य अधिकृत पशुपति आचार्यलाई पनि सम्मान गरेको छ ।

दुइ दिनसम्म संचालन भएको समीक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय गुल्मी,जिल्लाका १२ वटा पालिकाका स्वास्थ्य शाखा,गुल्मी अस्पताल,जिल्लास्थित स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरु राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र  (नार्डेक) नेपाल,हाम्रो जीवन प्लस,कारागार शाखा,इपिक परियोजना लगायत बिभिन्न कार्यालय र संस्थाहरुले आर्थिक वर्ष २०८०/२०८१ मा संचालित कार्यक्रमको सम्बन्धमा छलफल एवं समीक्षा गरि आगामी बर्षका लागि सुझाव संकलन र योजना निर्माण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख थापाले बताउनु भयो।

जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले गुल्मीको स्वास्थ्यको अवस्था राम्रो बनाउन सबै पालिका,सरकारी तथा गैरसरकारी निकाय जिम्मेवार ढंगले लाग्नुपर्ने बताउनुभयो।प्रमुख खत्रीले बैठकमा जिल्लामा सञ्चालन गरिएका स्वास्थ्यका क्रियाकलापहरुको गहन ढंगले समीक्षा गरिएको जानकारी दिदै स्वास्थ्यका सूचकहरुलाइ परिणाममुखी बनाउन कार्यक्रमको कार्यन्वयन पक्षलाई विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका फोकल पर्सन कुमार थापाले दुई दिने समीक्षा कार्यक्रममा उठेका विषयहरुलाई प्रदेश मन्त्रालय र विभागमा सहजीकरणका लागि छलफल गर्ने बताउनुभयो ।

समीक्षा कार्यक्रमबाट स्वास्थ्यको क्षेत्रमा जिल्लाको वास्तविक अवस्थाको पहिचान गर्न, नमुना कार्यको अनुसरण गर्न,स्वास्थ्यमा रहेका समस्याको पहिचान गर्न, समस्याको समाधानका लागि सामूहिक पहल गर्न र आगामी दिनका कार्यक्रममा प्रभावकारी ढंगले अगाडि बढ्न सहयोग पुग्ने कार्यालय प्रमुख पुष्पा थापाले बताउनुभयो ।

 

 

 

सम्बन्धित शिर्षक :