दुध विक्री वितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग

स्वास्थ्यसमाचार/दुध तथा दुग्धजन्य पदार्थको खाद्य स्वच्छता र गुणस्तर बृद्धि गर्नको लागि उपभोक्तालाई विक्रि गर्नुपूर्व नै गुणस्तर परिक्षण गरेर विक्रि वितरणको प्रवन्ध मिलाउन स्वयम् दुग्ध व्यवसायीले माग गरेका छन् । आफूहरुले नै न्यू नगुणस्तरको दुध खरिद गर्नुपरेको बताउँदै इन्ट्री पोइन्टमै परीक्षण गर्ने र गुणस्तरहीन दूधलाई विक्रि वितरणमा प्रतिवन्ध लगाइयो भने दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर बृद्धि गर्न सकिने उनीहरुले बताएका हुन् ।

राष्ट्रिय खीर दिवसको पूर्वसन्ध्यामा सोमबार बुटवल उद्योग वाणिज्य संघमा आयोजना गरिएको दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर र खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को सम्बन्धमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै दुग्ध व्यवसायीहरुलाई उपभोक्तालाई विक्रि वितरण गर्नुपूर्व नै दुधको गुणस्तर परीक्षण गरेर मात्रै विक्रि वितरणको प्रवन्ध मिलाउन स्थानीय सरकारलाई आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले व्यवसायी व्यवसायी मात्रै नभएर उपभोक्ता पनि भएकाले उपभोग्य बस्तुको गुणस्तरमा स्वयम व्यवसायीले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ लागु हुने मिति नजिकिँदै गर्दा त्यसको कार्यान्वयनमा सबैको चासो रहेको बताउनु भयो । उहाँले विकसित मुलुकमा प्रमाणीकरण नगरी आफैले उत्पादन गरेको आफैले पनि उपभोग नगरिने दृष्टान्त प्रस्तुत गर्दै खाद्य स्वच्छता र गुणस्तरीय बस्तुको उपलब्धतामा सबैले ध्यान दिनुपर्ने भनाई राख्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले उपभोक्ताले उपभोग गर्ने दुधको खाद्य स्वच्छता र गुणस्तर सुधा गर्नको लागि ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । त्यस्तै उहाँले डिडिसी लगायतका दुग्धजन्य उद्योगमा रोकिएको किसानको बक्यौता चाडो भुक्तानीको प्रवन्ध मिलाउन पनि आग्रह गर्नुभयो । त्यस्तै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वल प्रसाद कसजूले खाद्य स्वच्छता र गुणस्तर बृद्धिका लागि एकले अर्कालाई देखाउने भन्दा पनि सबैले आफ्नो जिम्मेवारी बोध गर्ने हो भने त्यो सुधार गर्न कुनै समस्या नहुने भनाई राख्नुभयो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलुवाईले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ मा रहेका प्रावधानका बारेमा जानकारी गराउनु भएको थियो । मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य श्रृङ्खलामा सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्न पुरानो खाद्य ऐन २०२३ लाई विस्थापित गरी २०८१ बैशाख २३ गते खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ राष्ट्रपतिबाट प्रमाणिकरण भएको थियो । यो ऐन प्रमाणीकरण भएको मितिले ९१ दिनमा लागु हुन्छ ।

त्यस्तैगरी लुम्बिनी दुग्ध विकास आयोजनाका प्रमुख योगेन्द्र शाहले दुधको खाद्य स्वच्छता र गुणस्तरका विषयमा प्रस्तुती राख्नुभएको थियो । त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघ डेरी वस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायले दुधको विक्रि वितरण गर्ने बिक्रेतालाई सम्बन्धित पालिकाले सूचिकृत गरेर बजारमा पठाउन तयार भएको दुधको खाद्य स्वच्छता तथा गुणस्तर नापजाँच गरेर मात्रै विक्रि वितरणको प्रवन्ध गर्नुपर्ने भनाई राख्नुभयो ।

उहाँले दुधको स्रोतमै समस्या रहेको भन्दै स्रोतलाई नै सुधार गर्नेगरी काम गर्नुपर्ने भनाई राख्नुभयो ।कार्यक्रममा बुटवल उपमहानगरपालिका अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेल, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, सचिव प्रतिक पोखरेल लगायतले भनाई राख्नुभएको थियो ।

सम्बन्धित शिर्षक :