आँखा राम्रो भएपो रङ्ग रमाईलो उमङ्ग आँखा नै नभए संसार अन्धकार

सरस्वती भण्डारी

प्राय रङ्गहरुमा बिभिन्न रासायनिक विषाक्त पदार्थहरु मिश्रण गरिएको हुन्छ जसले छाला र आँखालाई नोक्सान गर्नुको साथै अन्य संवेदनशिल अंगमा असर पुर्याउँछन् । बर्सेनि होलीमा आँखाभित्र रंग अबिर गएर वा लोला आदिले चोट लागेर दृष्टिमा क्षति पुगेको घटनाहरु सुनिन्छन ।

रङ्गहरुको मात्र कुरा नभएर लोलामा बिभिन्न किसिमका ढलको पानी, डढेको मोबिल, ग्रिज जस्ता हानीकारक पदार्थको प्रयोग हुने गर्दछ, यो झनै जोखिमपूर्ण हो ।
रासायनिक रंग लगायतको उपयोग स्वास्थ्यका लागि सकारात्क मानिँदैन, बजारमा पाइने रंगमा माटो, चुन, सिसा, मर्करी जस्ता विभिन्न रसायन लगायत हानिकारक तत्त्व मिसिएको हुन्छ जसले गर्दा आँखा बाहिरको छालाको एलर्जी हुने, चिलाउनुका साथै आँखा रातो हुने, सुक्खा हुने, बिझाउने देखि लिएर आँखामा घाउ समेत हुनसक्छ ।

घाउ निको नभई आँखा पुर्ण रुपमा बन्द पनि हुन सक्छ। अझ अहिलेको अवस्थामा र छिमेकी जिल्लाको उच्च तहको संक्रमणलाई लाई मध्यनजर गर्दा जमघट गर्ने रङ्ग दल्ने खालका कृयाकलापहरु गर्नाले कोभिड संक्रमणको जोखिम उच्च हुनसक्ने सम्भावना देखिन्छ।

सकेसम्म होलीमा रङ्ग खेल्दै नखेल्नु, यदि खेल्नु परेमा रासायनिक रंग को प्रयोग नगरिकन सुरक्षित किसिमका सुगन्धित घरयासी सामाग्रीहरु जस्ता चिजको मात्र प्रयोग गरि सानो टिका मात्र लगाएर मनाउने।

रङ्ग लगाईसकेपछि अनुहार पखालिहाल्नु पर्दछ। यदि आँखामा रङ्ग परेको खण्डमा तुरुन्तै सफा पानीले आँखा धोईहाल्ने तर मिच्नु चाँहि हुदैन। त्यसैगरि लोला हान्ने जस्ता कृयाकलापले गर्दा आँखामा जोड संग भित्रि चोट लाग्ने,आँखा भित्र रगत जम्ने,आँखाको सम्बेदनशिल भागहरुमा हानी पुग्नेका साथै आँखाको पर्दा फाट्ने सम्बाभना हुन्छ।

आँखामा रङ्ग परेको खण्डमा लगातार सफा पानीले पखाल्दा पनि बिझाउने, रातो हुने, आँसु आउने तथा दृष्टिमा कमि आएमा तुरुन्तै नजिकको आँखा उपचार केन्द्र वा आँखा अस्पतालमा सम्पर्क गर्नुपर्दछ। सानो तिनो लापारबाहीले गर्दा आँखा पुर्ण रुपले खराब हुन सक्दछ।

होली मनाउदा ख्याल गर्नुपर्ने मुख्य बुदाहरु ।

क रासायनिक रंग को प्रयोग गर्दे नगर्ने र बच्चाहरुलाई रंगको पहुँच बाट टाढा राख्ने
ख कुनै किसीमको एलर्जी भएका ब्यक्तिले रङ्गको प्रयोग नगर्ने
ग रङ्ग पखाल्ने बेला आँखा पुर्ण रुपमा बन्द गरि मनतातो पानीको प्रयोग गर्ने
घ रङ्ग खेल्नु पुर्व क्रिम वा तेलको प्रयोग गर्ने
ड रङ्ग पानी खेल्दा भुई चिप्लो हुने हुदा सम्यम भएर हिड्ने
च चश्मा वा आँखा सुरक्षाका साधनहरुको प्रयोग गर्ने

अन्त्यमा चाडपर्व रितिरिवाज सस्कृति जोगाउनु र आफ्नो संस्कारलाई कायम गर्नु सबैको अधिकार हो। हरेक चाडपर्वले मानिसको समग्र स्वास्थ तथा बिकासमा केहि न केहि योगदान पुर्याईरहेको हुन्छ। यसको महत्व र यसलाई निरन्तरता दिनु सबैको कर्तब्य हो। तर सामाजिक आर्थिक तथा अन्य क्षेत्रमा भएको रुपान्तरण संगै परिवर्तन र परिमार्जन जरुरी छ। एकातिर कोभिड १९ को चपेटामा परेको बेला अर्को तर्फ होलिमा हुने गरेका नकारात्मक किसिमका ब्यबहारले थप जटिलता उत्पन्न गराउन सक्दछ।

यस्तो अवस्थामा सबै जना सम्यमित भई चाडपर्व मनाऔ। आँखाको साथसाथै आफ्नो शरिरको ख्याल गरौ। । नियमित रुपमा सफा पानीले आँखा तथा हात मुख धुने गरौ।कोभिड १९ हटिसकेको छैन, होलीले कोभिड १९ संक्रमणलाई उच्च बनाउन सक्दछ। सबैजनाले आ आफनो क्षेत्रबाट साबधानी अपनाऔ।

सरस्वती भण्डारी
लुम्बिनी नेत्र बिज्ञान अध्ययन संथान

सम्बन्धित शिर्षक :