सबै मिली क्षयरोगको अन्त्य गरौं

कपिल गौतम

क्षयरोग रोक्न एकजुट हुनुछ
अन्त्य गर्ने लक्ष्यलाई छुनुछ ।
कहाँ छन् ती क्षयरोगी खोजौ है
के के छन् त विकल्प रोजौ है ।

लामो समय खोकी लाउनु, खानमा अरुची
मन्द ज्वरो पसिना आउनु, बेलुकी बेलुकी ।
शरीरको तौल घटे या दुब्लाउँदै गए
के भाको होला भनी मान्नुपर्छ भय ।

छाती दुख्नु खकारमा रगत पनि आउनु
बिना ढिलाइ पर्छ है स्वास्थ्यसंस्था धाउनु ।
पायक पर्ने जाउँ स्वास्थ्यसंस्थामा
निको हुन्न यसै घर बस्दामा ।

शंका गरौ, खकार जँचाऔं
आफू बाचौ, अरुलाई बचाऔं ।
धनी गरीब जोसुकैलाई लाग्छ क्षयरोग
उपचारबाट निको भै भाग्छ क्षयरोग ।

सबैजना चनाखो बनौ है
जानौ, बुझौ, अरुलाई भनौ है ।
जोखिमयुक्त समूहको पहिचान गरौं
समयमा नै क्षयरोगको निदान गरौं ।

डट्स विधि उपचार उत्तम
पार्छ यस्ले कीटाणू खत्तम ।
कुपोषण र एचआइभीले जोखिम झनै बढ्छ
क्षयरोग लाग्ने संभावना अझै माथि चढ्छ ।

मधुमेह, मद्यपान, चूरोट
जोखिम बढ्छ बुझौं है कुरो त ।
रोगप्रतिरोधक शक्ति कमजोर छ जस्मा
क्षयरोग लाग्ने खतरा बढी हुन्छ उस्मा ।

गरौं सबले मिलीजुली एक अर्काको हित
ख्यालख्याल हैन सजग बनौं क्षयरोगसित ।
समुदायमा चेतना जगाऔं
सबै मिली क्षयरोग भगाऔं ।

खोक्दा र हाछ्यूँ गर्दा छोपौं नाक मुख
भीडमा जाँदा मास्क लाउन नमानौं है दुस्ख ।
व्यक्तिगत सरसफाइमा जोड दिनु पर्छ
नत्र धेरैथरिका सरुवा रोग सर्छ ।

आमाबुवा,दाजुभाइ,दिदीबैनी सारा
क्षयरोग अन्त्यको लगाऔं सबले नारा ।

–कपिल गौतम, बुटवल (चैत्र ९ २०७७)

सम्बन्धित शिर्षक :