स्वास्थ्यसमाचार/ पूर्वी नवलपरासीको आठ वटै पालिकामा नेपाल सरकारले स्वास्थ्य विमा कार्यक्रम लागु गरेको छ ।गत बर्ष देखि नै नवलपुरमा स्वास्थ्य विमा शुरु हुने भनिए पनि लकडाउनका कारण ढिलो गरी नवलपुरमा स्वास्थ्य विमा शुरु भएको हो ।
नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले नेपालका ७७ वटै जिल्लामा विस्तार गर्ने गरी शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम पूर्वी नवलपरासीमा पनि शुरु भएको छ ।सामान्य उपचार पनि पाउन नसकेर ज्यान गुमाउन बाध्य भएकाहरुले उपचार नै नपाएर ज्यान गुमाउन नपरोस् भनेर नेपाल सरकारले नेपाल भर यो स्वास्थ्य विमास शुरु गरेको हो । अहिले नवलपुरका सबै पालिकामा स्वास्थ्य विमा शुरु भएको जिल्ला स्वास्थय कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले बताए।
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अहिले नवलपुरका सबै पालिकाहरुमा जनप्रतिनिधिहरु, नगरपालिका तथा वडा कार्यालयका कर्मचारीहरु, स्वास्थ्य कर्मचारीहरुलाई तालिम प्रशिक्षण शुरु गरिएको छ ।पाँच जनासम्मको परिवारले प्रतिबर्ष ३ हजार पाँच सय रुपैयाँ तिरेर प्रति बर्ष १ लाखसम्मको निशुल्क उपचार पाउने प्रावधान स्वास्थ्य विमामा गरिएको छ ।
त्यसैगरी ५ जना भन्दा बढी परिवार सदस्य भएका परिवारको हकमा प्रति व्यक्ति ७ सय रुपैयाँ विमा शुल्क थप लाग्ने र प्रतिव्यक्ति बार्षिक २० हजार रुपैयाँ सम्मको निशुल्क उपचार गर्न पाउने प्रावधान रहेको कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए ।नवलपुर जिल्लामा माघ महिना लगत संकलन गरेर फागुन र चैत्रसम्म सबैलाई स्वास्थ्य विमाको दायरामा ल्याएर चैत्रदेखि निशुल्क स्वास्थ्य सेवा पाउने छन् ।
विमा गर्ने सेवा ग्राहीहरुले स्वास्थ्य सेवा लिनका लागि नजिकको जिल्ला अस्पताल वा नजिकको जिल्लाको अन्य सरकारी अस्पतालमा गएर निशुल्क सेवा लिन सक्ने छन् भने उक्त अस्पतालमा उपचार हुन नसकेको खण्डमा सम्बन्धित अस्पतालमा रिफर गर्ने सहितको प्रावधान यस स्वास्थय विमा कार्यक्रममा रहेको स्वास्थ्य विमा कार्यक्रम गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले बताए ।
नेपालको संविधानमा शिक्षा स्वास्थ्य जस्ता विषयहरुलाई जनताको नैसंर्गिक हक भित्र राखेको भए पनि अझै कतिपय गरिब तथा विपन्न परिवारको मानिसहरु सामान्य उपचारसम्म गर्न नपाएर अकालमै ज्यान गुमाउनु परेको अवस्था छ ।

 
				
					 
			 
                             
                             
                            
प्रतिकया दिनुहोस्