तिलोत्तमा नगरपालिका वडा नं १२मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन

सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन नगरबासीलाई नगर प्रमुख घिमिरेको आग्रह

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा नगरपालिकामा एउटा आयुर्वेद औषधालयसहित सरकारी स्वास्थ्य संस्थाको संख्या १४ पुगेको छ । आइतबारबाट वडा नं. १२ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै सरकारी स्वास्थ्य संस्थाको संख्या १४ पुगेको हो ।

वडा नं. १२ को मोहनाजोत भाटामा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको कामले तीव्रता पाएको हो ।

चालु आर्थिक वर्षमैं वडा नं. ९ मा समेत स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी छ । स्वास्थ्य केन्द्रका आफ्नै सुविधासम्पन्न भवनहरु पनि निर्माण भैरहेका छन् । हालसम्म तिलोत्तमाका वडा नं. १, २, ३, ४, ६, ७, ८, १०, ११, १२, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएका छन् ।

आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमैं पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन् । स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा धेरै परिवर्तन आएको बताउँदै सरकारी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन नगरबासीलाई आग्रह गरे ।

आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरु उपलब्ध छन् ।

कार्यक्रममा नगर उप–प्रमुख जगेश्वरदेवी चौधरी, वडा नं. १२ का वडाध्यक्ष सहदेव थारु, स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेल, सिनियर अहेव अधिकृत गणेश गौतमलगायतले आधारभूत स्वास्थ्य सेवाको बारेमा वोलेका थिए ।

सम्बन्धित शिर्षक :