स्वास्थ्यसमाचार / निजी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्न चाहने मापदण्ड पुगेका निजी प्रयोगशालालाई परीक्षण अनुमति दिएको हो । तर निजी प्रयोगशालाले स्वाब संकलन गर्न भने पाउने छैनन् । निजीले सरकारले संकलन गरेको स्वाबको मात्रै परीक्षण गर्न पाउनेछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, “निजी प्रयोगशालामा परीक्षण हुनेको मतलब सर्वसाधरणको स्वाब निकालेर परीक्षण हुने होइन, सरकारी प्रयोगशाला तथा इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा मार्फत कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको संकलित स्वाब मात्रै परीक्षण गराउने हो र गोपनियता कायम राख्दै रिपोर्ट पनि सरकारलाई नै बुझाउने हो ।” यसरी निजीमा परीक्षण गरिएको शुल्क सरकारले नै तिर्छ।
जसलाई निरोगिताको प्रमाणपत्र आवश्यक छ, विदेशी कुटनीतिक नियोगका व्यक्तिहरु एवं विदेश जान भिसा आवेदनका लागि र आफु ढुक्क हुन परीक्षण गर्छु भन्नेहरुले परीक्षण शुल्क आफैंले तिर्नुपर्नेछ ।
परीक्षणका लागि सरकारी मापदण्डभित्र नपरेका तर आफुले पैसा तिरेर परीक्षण गराउन चाहेमा सर्वसाधरणहरु सरकारले तोकेको तीनवटा अस्पतालमा जानुपर्नेछ । सर्वसाधरणले त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा ५ हजार ५ सय शुल्क तिरेर कोरोना परीक्षण गर्न पाउनेछन् ।
सर्वसाधरणले सकेसम्म अत्यावश्यक पर्दामात्रै यी तीन अस्पतालमा गएर परीक्षण गर्न आग्रह गर्दै प्रवक्ता गौतमले एक जिल्लाबाट अर्को जिल्ला यात्रा गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न नपर्ने वताए ।साभार हेल्थपाटी।

 
				
					 
			 
                             
                             
                            
प्रतिकया दिनुहोस्