डायलासिस गर्न आउने बिरामीलाई निःशुल्क बस सेवा

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल निःशुल्क बस संचालनको रुट थप

स्वास्थ्यसमाचार/लकडाउनका कारण सवारी साधन नचल्दा डायलाइसिस गर्नुपर्ने विरामी समस्यामा परेपछि बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल निःशुल्क बस संचालनको रुट थप गरेको छ ।

दुईवर्ष देखि नवलपरासीको बर्दघाट, तिलोत्तमाको मणिग्रामसम्म दैनिक निःशुल्क बस सेवा संचालन गर्दै आएको अस्पतालले विहिबारदेखि कपिलवस्तुको वाणगंगा नगरपालिकाको बनगाई सम्म निःशुल्क बस संचालन गर्ने भएको हो ।

हप्तामा दुईपटक डायलाईसिस गराउनुपर्ने भएपनि कतिपय कपिलवस्तुका विरामी लकडाउनका कारण अस्पतालमा बस्न बाध्य भएपछि बस संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । उनले अधिकांश विरामीहरु हप्तामा दुईदिन मिर्गौला डायलाईसिस गर्नुपर्ने अवस्थाका भएकोले विहिबार र सोमबार हप्ताको दुईदिन कोईली बनगाईसम्म बस संचालन गर्न लागिएको बताए ।

नियमित रुपमा मिर्गौलाको डायलाईसिस गर्न आउने कतिपय विरामीहरु लकडाउनको कारण महंगो भाडा तिरेर एम्बुलेन्स मार्फत अस्पताल आउनुपरेको थियो भने कतिपय बुटवलमै कोठा भाडामा लिएर बस्न बाध्य थिए ।

हाल फरकफरक दिनमा डायलाईसिस गराउंदै आएका सो क्षेत्रका विरामीहरुको समय विहिबार र सोमबार मिलाएर भएपनि सेवा दिन लागिएको अध्यक्ष आलमले जानकारी दिए ।

डायलाईसिसको लागि विहान अस्पताल ल्याएका बिरामीहरुलाई डायलाइसिस गरि सकेपछी सांझ ४ बजे बनगाई सम्म नै छोड्ने अस्पतालले जनाएका छन् । हाल बुटवलदेखि पश्चिम कपिलवस्तुसम्मका ६४ जना विरामी नियमित डायलाईसिसको लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका छन् ।

सम्बन्धित शिर्षक :