स्वास्थ्यसमाचार / कोरोना भाइरस विरुद्धको अर्को अभियान अन्तर्गत बुटवलमा “क्लोरिन“ तथा “ब्लिचिङ पाउडर“सहितको किटाणु नाशक स्प्रे छर्किएको छ । सहरका मुख्य सडकहरूलाई “डिस्इन्फेक्सन गराउने काम स्वरुप स्प्रे गर्न थालिएको हो ।
उपमहानगरपालिकाले नगरभित्रका वाइपास सडकमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रित औषधि छर्ने काम सुरु गरेको हो ।नगरबासीलाई लकडाउनको पालना गर्न सार्वजनिक अपील जारी गर्नुका साथै उपमहानगरपालिकाले नगर भित्र रहेका ३० फुटे सबै सडकमा डिसइन्फेक्सन बनाउन लागेको प्रमुख शिवराज सुवेदीले जानकारी गराए ।
ब्लिचिङ पाउडर र क्लोरिन झोलयुक्त विषादीलाई मान स्वास्थ्यमा असर नपर्ने भन्दै विज्ञहरूले सिफारिस गरिसकेका छन् ।तीन दिनमा उपमहानगरपालिका भित्रका सबै सडकमा उक्त क्लोरिन छरि सकिने र राहत वितरण संगै सार्वजनिक अपील पनि गरिने प्रमुख सुवेदीले जानाकारी दिए। सडक किनारमा टाँसिएर रहेका भाईरस मर्ने, किटाणु नाश हुने र सरसफाइमा समेत चासो बढ्ने प्रमुख सुवेदीको विश्वास छ ।
उपमहानगरले दमकल प्रयोग गरेर एकपटकमा ४५ सय लिटर औषधि छर्किरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए। दमकलमा राखेर सडक र पेटीमा छर्किने र संगसंगै सार्वजनिक सन्देश पनि प्रवाह गरिएको शर्माले बताऐ । उपमहानगरपालिकाले विशेषज्ञको सिफारिसमा डिसइन्फेक्सनको झोल छर्किएको र सबै वडामा र्पुयाइने बताएको छ ।
पहिलो चरणमा ४ लाख ६८ हजार लिटर क्लोरिन छर्कने र अपुग भएको अवस्थामा थप क्लोरिन ल्याएर सडकमा छर्कने काम भइरहेको जनस्वास्थ्य महाशाखाका शाखा अधिकृत कुन्दनकुमार सिंहको भनाई छ ।
चिडिया चौकीदेखि योगिकुटी सिमानासम्म, मिलनचोकदेखि बाणिज्य क्याम्पस बेलबास पुलदेखि १४ नंं वडा कार्यालय, भुड्की चोकबाट बेसक्याम्प, कृषि उपज केन्द्रबाट योगिकुटी कालिकापथसम्म औषधि छर्किइने उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । दोस्रोचरणमा अरु वडाहरुमा टोली परिचालन गरिने उनकोे भनाइ छ ।
प्रतिकया दिनुहोस्