स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रसुवामा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाएकाहरूको शव व्यवस्थापनको अवस्थाबारे स्थलगत अनुगमन थालेका छन् ।
मुख्यमन्त्री आचार्यले मंगलबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुगेर शव व्यवस्थापन तथा पहिचानको अवस्थाबारे जानकारी लिएका हुन् ।
अस्पताल प्रशासनका अनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट दुई चरणमा गरी ३९ वटा शव लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । तीमध्ये एउटा शवको पहिचान भएको छ भने २० वटा शवको डीएनए परीक्षण गरी व्यवस्थापनका लागि नवलपरासी पठाइएको छ ।
हाल अस्पतालमा १८ वटा शव रहेको जनाइएको छ । शव व्यवस्थापनका लागि अस्पतालमा ठाउँको अभाव भएपछि नयाँ मर्चरी निर्माण गरेर शव सुरक्षित गरिएको अस्पताल प्रशासनले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएको छ ।
बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको शव सुरक्षाका लागि आवश्यक खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय यसअघि नै गरिसकेको छ । शव व्यवस्थापन तथा शव पहिचानका लागि भइरहेका प्रक्रियाको अवस्थाबारे मुख्यमन्त्री आचार्यले स्थलगत अनुगमन सुरु गरेका हुन् ।
अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले शवको पहिचान तथा व्यवस्थापनको काम संवेदनशीलताका साथ छिटो सम्पन्न गर्न अस्पताल प्रशासन तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
परिवारजनले आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउने र शव पहिचान भएपछि सहज रूपमा बुझ्न सक्ने वातावरण बनाउन प्रदेश सरकारले आवश्यक सहजिकरण गर्दैआएको छ ।


प्रतिकया दिनुहोस्